राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप लगायत कारणले मुलुकको आर्थिक अवस्था खुम्चिएका बेला सेयर बजारमा भने लगानीकर्ताको आकर्षण बढेको छ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा बाढीपहिरोले सडक अवरुद्ध हुनु, उद्योगबाट उत्पादित सामान समयमा ढुवानी गर्न नसक्नु, चर्को मूल्यवृद्धिले कच्चा पदार्थ र इन्धन आयातमा लागत बढ्नु, व्यावसायिक कृषि खेती तथा पशुचौपाया व्यापारमा कठिनाइ, हाइड्रोपावर निर्माण तथा अन्य क्षेत्रमा गरिएको लगानीमा जोखिम बढेका कारण सेयरबजारमा लगानी गर्नेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ।
उद्योग–व्यापारमा लगानीको वातावरण पनि छैन। अन्य क्षेत्रमा गरिएको लगानीभन्दा तुलनात्मक रूपमा सेयरबजारमा हुने लगानी केही सुरक्षित हुने देखेर यसतर्फ आकर्षित हुने संख्या बढेको हो। यसैकारण डि–म्याट (हितग्राही) खाता खोल्नेको संख्या बढेर ८० लाख ९८ हजार पुगेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो जानकारी गराएको हो।

सेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको सेयर खरिदबिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि–म्याट खाता अनिवार्य हुन्छ। नेपालमा सेयर तथा अन्य धितोपत्रको केन्द्रीय निक्षेप, राफसाफ (क्लियरिङ) र फछ्र्योट (सेटलमेन्ट) सेवा प्रदान गर्ने एक मात्र संस्था सिडिएससी हो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्वामित्वमा २०६७ सालमा सिडिएससी स्थापना भएको हो। सेयरबजारमा लगानी गर्नेले डि–म्याट खातासँगै अनलाइनमार्फत प्राथमिक सेयर (आइपिओ) भर्न र सेयर कारोबारमा आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ।
सिडिएससीका अनुसार हालसम्म ७१ लाख ८८ हजार ९९८ जनाले ‘मेरो सेयर’मा खाता दर्ता गराएका छन्। जसमा बजारमा सक्रिय रहने (एक्टिभ) मेरो सेयर प्रयोगकर्ताको संख्या भने ५१ लाख २३ हजार छ। यो आइपिओ र दोस्रो बजारबाट सेयर कारोबार गर्ने ‘टिएमएस’ खाता सञ्चालन गर्नेहरूको संख्या हो।
मेरो सेयरबाट साधारण सेयर (आइपिओ) भर्न सकिन्छ। यसबाट दोस्रो बजारमा बिक्री गरिएको सेयर ट्रान्सफर गरिन्छ। मेरो सेयर खाता नहुनेले आइपिओ भर्न बैंक धाउनुपर्छ। यस्तै डि–म्याट खाता नभएकाले प्राथमिक सेयर भर्न र दोस्रो बजारमा सेयर किनबेच गर्न पनि पाउँदैनन्।
हाल नेपालको धितोपत्र बजारमा सूचीकृत कुल सेयरहरूमध्ये अधिकांश पूर्ण रूपमा अभौतिकीकरण (डि–म्याट) भइसकेका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांकअनुसार सेयरबजारमा अहिलेसम्म तीन सय ४८ वटा कम्पनी छन्। यी कम्पनीमा कुल लगानी ४५ खर्ब ३४ अर्ब ३५ करोड १६ लाख ८८ हजार ६४० रुपैयाँ छ। पछिल्लो समय सेयर बजारमा महिला सहभागिता पनि क्रमशः बढ्दै गएको देखिन्छ।
कुल डि–म्याट खाता खोल्नेमध्ये ४२.६७ प्रतिशत हिस्सा महिलाको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले गत असोजमा संघीय संसद्को अर्थ समितिको ‘पुँजीबजारसम्बन्धी’ बैठकमा पनि यही विवरण पेस गरेका थिए।
बोर्डका अनुसार संगठित संस्थाहरूले संकलन गरेको कुल पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत छ। त्यस्तै संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत छ।
हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँबराबरको पुँजी परिचालनका लागि स्वीकृति दिइएको बोर्डले जनाएको छ। आव २०८२/८३ मा सेयर बजारबाट मात्र सरकारले १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
सेयरबजारमा आकर्षित भई डि–म्याट खाता खोल्नेमा उमेरगत तथ्यांक हेर्दा १९ देखि ३० वर्ष उमेर समूहको संख्या ३०.१२ प्रतिशत, ४१ देखि ६० वर्ष उमेर समूहको संख्या २५.८७ प्रतिशत र ३१ देखि ४० वर्ष उमेर समूहको संख्या २३.२४ प्रतिशत छ।
त्यस्तै १८ वर्ष उमेरसम्मका लगानीकर्ताको हिस्सा १२.३१ प्रतिशत, ६१ देखि ७० वर्ष उमेर समूहको हिस्सा ५.३८ प्रतिशत र ७१ वर्ष उमेरमाथिको हिस्सा ३.०४ प्रतिशत छ।
बागमतीमा खाता खोल्ने धेरै
प्रदेशगत रूपमा डि–म्याट खाता खोल्नेको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा ३३.८५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३.०४ प्रतिशत छ। त्यस्तै कोसीमा १८.९४ प्रतिशत, मधेसमा १२.८१ प्रतिशत, गण्डकीमा १२.३४ प्रतिशत, लुम्बिनीमा १२.२० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.७४ प्रतिशत छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।