विज्ञापन
राजनीति

सरकारका सबै निर्णयमा ‘हो मा हो’ मिलाउनु पार्टीको काम होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने मान्यता नरहेको बताएका छन्।

चितवनमा बिहीबार सञ्चारकर्मीसँगको भेटमा लामिछानेले सरकारका कामकारबाहीमाथि निगरानी राख्ने, आवश्यक प्रश्न गर्ने र उसका निर्णयबारे थप स्पष्टता खोज्ने काम पार्टी भएको बताए।

उनले सरकारका सबै निर्णयमा ‘हो मा हो’ मिलाउनु पार्टीको काम नभएको स्पष्ट पार्दै पार्टी र सरकार दुवैले आआफ्ना जिम्मेवारी स्वतन्त्र रूपमा निर्वाह गरिरहेको बताए।

विज्ञापन

‘सरकारले गरेका सबै चिजलाई पार्टीले हो मा हो गर्दैन। पार्टीले गरेका काममा पनि सरकारले कहिलेकाहीं हो मा हो मिलाउँदैन,’ उनले भने, ‘सरकारका काममा थप स्पष्टता चाहियो भने पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, प्रश्न गर्ने र आवश्यक स्पष्टता खोज्ने काम गर्नुपर्छ।’

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) फेरबदल गरेकाप्रति रास्वपा असन्तुष्ट हो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारी हेरफेरको विषय संवेदनशील भएको बताए। सरकारले गर्ने कुनै पनि निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी उसकै हुने उनको भनाइ थियो। ‘पार्टीले आइजिपी फेर, डिआइजी फेर, इन्स्पेक्टर वा सिडिओ फेर भनेर भन्दैन। सरकारले कुनै काम गर्न आवश्यक कदम चालेपछि त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी पनि सरकारकै रहन्छ,’ उनले भने।

लामिछानेले आइजिपी फेरबदलमा पार्टीको कुनै भूमिका नरहेको पार्टी प्रवक्ताले पनि स्पष्ट पारिसकेको स्मरण गराए। ‘सरकारलाई पार्टीले गम्भीर रूपमा प्रश्न गरेको छ। यसको स्पष्टता दिनुहोस् भनेर भनेकै छ। आइजिपीको फेरबदल र पार्टीले उठाएको प्रश्नबिच सम्बन्ध छ कि छैन भन्ने कुरा सरकारले समय आएपछि बताउला,’ उनले भने, ‘सरकारका निकायहरू कानुनले दिएको अधिकार प्रयोग गर्न स्वतन्त्र छन्।’

उनले कुनै पनि व्यक्तिमाथि प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। आरोप लाग्दैमा कसैलाई दोषी प्रमाणित गर्न नमिल्ने उनको भनाइ थियो।

उनले सरकारलाई जनजीवन, नेतृत्व तह र विभिन्न संघसंस्थाबाट प्रश्न नउठ्ने गरी काम गर्न आफूले सुझाव दिँदै आएको पनि बताए। ‘सरकारले आफूले गर्ने क्रियाकलापमा अपरिपक्वता भयो कि भन्ने प्रश्न नआउने गरी काम गर्नुपर्छ। विधिको शासनलाई परिकल्पना गरेर कानुन पालना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।

पार्टी र सरकारबिच समन्वयको अभाव नरहेको दाबी गर्दै लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिएको बताए।

सरकारका निर्णयमा प्रश्न उठ्दैमा त्यसलाई पार्टी र सरकारबिच द्वन्द्व रहेको अर्थमा बुझ्न नहुने उनको भनाइ थियो। ‘सरकारलाई मज्जाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो। हामीले प्रश्न गर्‍यौं भने हानाहान भयो, बिग्रियो भन्ने होइन’, उनले भने ‘आवश्यक जिज्ञासा र स्पष्टताका लागि हामी बसेर कुराकानी गर्छौं। हाम्रो निरन्तर संवाद भइरहेको छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।