विज्ञापन
अन्तर्राष्ट्रिय

रिपब्लिकनलाई जिताउन करोडौँ खर्चिएका मस्कले दुई दिनमै गुमाए चार खर्ब ५६ अर्ब डलर

अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करोडौँ डलर खर्चिएका अर्बपति एलन मस्कलाई चुनावी नतिजापछि ठुलो आर्थिक धक्का लागेको छ।

चुनावको परिणाम सार्वजनिक भएपछिका दुई कारोबार दिनमा उनका कम्पनी टेस्ला र स्पेसएक्सको संयुक्त बजार पुँजीकरण चार खर्ब ५६ अर्ब डलरले घटेको हो।

स्थानीय समयअनुसार मंगलबार बजार बन्द हुँदादेखि बिहीबार कारोबार बन्द हुँदासम्म दुवै कम्पनीको बजार मूल्यमा ठुलो गिरावट आएको थियो। बिहीबार मात्रै टेस्लाको सेयर करिब ११ प्रतिशत र स्पेसएक्सको सेयर करिब ९ प्रतिशतले घट्यो।

विज्ञापन

यसको असर मस्कको व्यक्तिगत सम्पत्तिमा पनि परेको छ। फोर्ब्स र ब्लुमबर्गको अनुमानअनुसार बिहीबारको कारोबारपछि उनको कुल सम्पत्ति ७८५ अर्बदेखि ७८९.५ अर्ब डलरको बिचमा झरेको थियो। बिहीबार मात्रै उनको सम्पत्ति करिब ८० अर्ब डलर घटेको थियो। यद्यपि, उनी अझै विश्वकै सबैभन्दा धनी व्यक्ति कायम छन्।

मस्कको अधिकांश सम्पत्ति स्पेसएक्स र टेस्लामा रहेको उनको सेयर स्वामित्वमा आधारित छ। यसबाहेक उनको एक्सएआई, न्युरालिंक र द बोरिङ कम्पनीमा पनि लगानी छ। त्यसैले यी कम्पनीको बजार मूल्यमा आउने उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा पनि ठुलो प्रभाव पार्छ।

डेमोक्र्याटहरूले अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि लगानीकर्ताहरूले मस्कका कम्पनीमाथि सरकारी अनुसन्धान र कडा नियमन हुन सक्ने आशंका गरेका छन्। विशेषगरी टेक्सासमा डेमोक्र्याट उम्मेदवार विजयी भएपछि त्यहाँ निर्माण भइरहेका एआई पूर्वाधार र डाटा सेन्टर परियोजनामा अवरोध आउन सक्ने चिन्ता बढेको छ।

मस्कले मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवार र उनीहरूका अभियानलाई सहयोग गर्न ४४ करोड ५० लाख डलरभन्दा बढी खर्च गरेका थिए। तर, उनले आर्थिक सहयोग गरेका अधिकांश उम्मेदवार चुनावमा पराजित भए।

टेस्ला र स्पेसएक्सको मुख्यालय रहेको टेक्सासमा डेमोक्र्याट उम्मेदवार जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई पराजित गरे। त्यस्तै, गभर्नरको चुनावमा डेमोक्र्याट गिना हिनोजोसाले रिपब्लिकन ग्रेग एबोटलाई हराइन्। टेक्सासमा तीन दशकभन्दा बढी समयपछि डेमोक्र्याटहरूले राज्यव्यापी चुनाव जितेका हुन्।

मस्कले प्याक्सटनको चुनावी अभियानलाई ठुलो आर्थिक सहयोग गरेका थिए भने एबोटलाई पुनः निर्वाचित गराउन कम्तीमा ५० लाख डलर खर्च गरेका थिए। तर, दुवै उम्मेदवार पराजित भए।

डेमोक्र्याट उम्मेदवारहरूले चुनावी अभियानका क्रममा मस्कका कम्पनीले पाउँदै आएका कर छुट, सरकारी अनुदान र प्राकृतिक स्रोतको प्रयोगलाई प्रमुख मुद्दा बनाएका थिए। उनीहरूले ठुला डाटा सेन्टरका कारण पानी र बिजुलीको खपत बढ्ने भन्दै यस्ता परियोजनामा कडा नियमन आवश्यक रहेको बताएका थिए।

टेस्ला र स्पेसएक्सले टेक्सासमा एआई पूर्वाधार विस्तार गर्ने योजना बनाएका छन्। दुवै कम्पनीले टेराफ्याब नामक विशाल परियोजनामार्फत डाटा सेन्टर र सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गर्ने तयारी गरिरहेका छन्। तर, टेक्सासको नयाँ नेतृत्वले डाटा सेन्टर निर्माणमा कडा नियम लागू गरेमा यी परियोजनामा ढिलाइ हुन सक्ने लगानीकर्ताको आशंका छ।

यसैबिच, अमेरिकी संसदमा डेमोक्र्याटहरूको नियन्त्रण कायम भएपछि मस्क र उनका कम्पनीमाथि थप अनुसन्धान हुन सक्ने सम्भावना छ। युक्रेनमा स्टारलिंकको सैन्य इन्टरनेट सेवासम्बन्धी निर्णय र टेस्ला तथा स्पेसएक्सलाई गाभ्ने मस्कको योजनासमेत नियामक निकायको छानबिनमा पर्न सक्ने देखिएको छ। एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।