विज्ञापन
अन्तर्राष्ट्रिय

मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री पिट हेगसेथलाई पदबाट नहटाउने बताएका छन्।

मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठुलो पराजय व्यहोरेपछि आफ्नै पार्टीका सांसदसहित विभिन्न पक्षबाट हेगसेथलाई जिम्मेवारीबाट हटाउन दबाब बढिरहेका बेला ट्रम्पले उनलाई पदमै कायम राख्ने आफ्नो योजना रहेको बताएका हुन्।

बिहीबार एबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले भने, ‘मेरो उनलाई पदमा राख्ने पूरा योजना छ।’ हेगसेथप्रति असन्तुष्टि जनाउँदै आफूलाई फोन आउने गरेको पनि उनले स्वीकार गरे। तर, उनीप्रति असन्तुष्टि किन बढिरहेको छ भन्ने आफूले नबुझेको ट्रम्पको भनाइ छ।

विज्ञापन

ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो। मासीले आगामी सोमबार वा मंगलबार प्रस्ताव अघि बढाउने बताएका छन्। उनले प्रस्ताव पारित गराउन आवश्यक संख्यामा रिपब्लिकन सांसदले समेत साथ दिने विश्वास व्यक्त गरेका छन्।

मासीले यसअघि गत सेप्टेम्बरमा हेगसेथविरुद्ध आठ वटा आरोप समेटिएको ३४ पृष्ठ लामो महाभियोग प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए। उनले सदनको बैठकमा ६७ मिनेटभन्दा बढी समय लगाएर प्रस्तावका आरोपहरू पढेर सुनाएका थिए। तर, सभामुख माइक जोन्सनले मध्यावधि चुनावअघिको संसदीय कार्यतालिकाका बाँकी बैठक रद्द गरेपछि उक्त प्रयास अघि बढ्न सकेको थिएन।

मासीले हेगसेथले रक्षामन्त्रीको जिम्मेवारीअनुसार काम नगरेको, युद्धसम्बन्धी नियम र संविधानको उल्लंघन गरेको तथा अमेरिकी नागरिकको हितमा असर पर्ने काम गरेको आरोप लगाएका छन्। उनले हेगसेथ पदमा रहिरहे सर्वसाधारण नागरिक, अमेरिकी कूटनीति र संविधानका लागि खतरा हुन सक्ने दाबीसमेत गरेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले मासीलाई ‘धेरै खराब व्यक्ति’ भनेका छन्। उनले मासीले अनावश्यक रूपमा समस्या सिर्जना गरिरहेको आरोपसमेत लगाए।

हेगसेथको राजनीतिक भविष्यलाई लिएर अर्को चर्चा पनि चलिरहेको छ। टेनेसीकी रिपब्लिकन सिनेटर मार्शा ब्ल्याकबर्न गभर्नर निर्वाचित भएपछि उनको सिनेट सिट खाली हुँदैछ। उक्त सिटमा हेगसेथ जान सक्ने अनुमान गरिए पनि एपीका अनुसार उनलाई त्यसका लागि अहिले विचार गरिएको छैन।

टेनेसीका रिपब्लिकन सांसद टिम बर्चेटले भने उक्त सिनेट सिटमा आफूलाई अवसर दिनुपर्ने इच्छा व्यक्त गरेका छन्। ब्ल्याकबर्नले जनवरीमा गभर्नरको पद सम्हालेपछि आफ्नो स्थानमा नयाँ सिनेटर नियुक्त गर्न पाउनेछिन्।

यसैबिच, इरानसँगको युद्धलाई लिएर पनि ट्रम्प प्रशासनमाथि दबाब बढिरहेको छ। आठ महिनादेखि जारी युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले मतदातामा असन्तुष्टि बढाएको विश्लेषण गरिएको छ। मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि युद्धको निर्णय र त्यसको व्यवस्थापनलाई लिएर पार्टीभित्रै आलोचना चुलिएको छ। ट्रम्पले पनि इरानसँगको युद्धले चुनावी नतिजामा असर पारेको स्वीकार गरेका छन्। यद्यपि, उनले इरानसँगको युद्धको निर्णयको बचाउ गर्दै आएका छन्।

हेगसेथले भने आफूविरुद्धको महाभियोग प्रयासलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै राजनीतिक दबाब र अनुसन्धानबाट आफू पछि नहट्ने बताएका छन्।

ट्रम्पले हेगसेथलाई समर्थन जारी राखे पनि जनवरीमा नयाँ संसद् सुरु भएपछि उनको जिम्मेवारी थप चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। डेमोक्र्याटहरूले संसद्मा बहुमत पाएपछि हेगसेथको नेतृत्व र पेन्टागनका कामकारबाहीमाथि अनुसन्धान गर्ने तयारी गरेका छन्। यसले उनीमाथि संसदीय दबाब थप बढाउन सक्छ। आफ्नै पार्टीका केही सांसदबाट समेत आलोचना भइरहेका बेला यस्तो अनुसन्धानले हेगसेथका लागि थप राजनीतिक चुनौती सिर्जना गर्न सक्नेछ।

यद्यपि, अमेरिकी प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव पारित भए पनि पदबाट हटाउन सिनेटमा उपस्थित सदस्यहरूको दुई तिहाइ मत आवश्यक पर्छ। त्यसैले महाभियोग प्रक्रिया अघि बढे पनि हेगसेथलाई पदबाट हटाउन सहज हुने छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।