विज्ञापन
राजनीति

सभामुख अर्यालसँग अमेरिकाको तल्लो सदनको कमिटीका सभापतिसहितको संसदीय प्रतिनिधिमण्डलको भेट

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको थियो।

भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा नेपाल सरकारले हरसम्भव प्रयास गरेको उल्लेख गर्दै विपद्को कठिन घडीमा संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे।

विज्ञापन

यस्तै सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत “जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल” विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराए।

जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्न अन्तर्राष्ट्रिय र अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। साथै, जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रहरूले जिम्मेवारीपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने धारणा राखे।

नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी तथा आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत र कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताए।

सभामुख अर्यालले अमेरिकी संसद्मा रहेका संसदीय ककस तथा नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच निरन्तर सहकार्य र संवादलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले संसदीय भ्रमण तथा आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय कूटनीति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिए।

उक्त अवसरमा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरेको थियो। प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध नेपाल भ्रमणले नयाँ ऊर्जा थपेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर तथा विश्वासमा आधारित रहेको बताएको थियो। साथै, नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन इच्छुक रहेको धारणा व्यक्त गरेको थियो।

भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।