आमा व्रत बस्नुभाछ। छाेरी आमालाई सघाउँदै छिन्।
आमा – छाेरी, अलिक गाह्रो भाे, थाेरै मिश्रीपानी खाऊँ क्या हाे!
छाेरी- हुन्छ, म बनाएर ल्याइदिन्छु, तपाईं यहीँ बस्नुस् भन्दै आमालाई पिडीमा बसालेर भित्र पसिन्। उनले काँसकाे डबकामा मिश्री घाेलेकाे पानी खान दिइन्।

आमाले धन्न तिमी थियौ र पानी खान पाएँ भन्दै डबका भुइँमा राखिन्।
तपाईं हाम्रो कुरा सुन्नु हुन्न। खालि आफ्नै ढिपी गर्नुहुन्छ। याे निराहार, निर्जल व्रत बसेर बाकाे उमेर लम्बिने हाेइन, उमेर त स्वस्थ शरीर भए लम्बिने हाे। स्वस्थ हुन परिवारका सदस्य एकअर्काकाे सहज, सरल र आत्मीय व्यवहार चाहिन्छ।
हामीले आपसमा सद्भाव राखेर घर चलाउनु, आफूलाई केके न अरूलाई क्यैनक्यै ठान्ने बानी त्याग्नुपर्छ, जिद्दी हुनु राम्रो हाेइन।
समयमा खानपिन, मिठाे बाेली, मिजासिलाे व्यवहार, सुखदुखमा साथ सहयोगी भई एक अर्कालाई बुझिदिए परिवारमा शान्ति छाउँछ, उमेर बाबाकाे मात्र किन तपाईंको पनि लम्बिन्छ।
आमा- तिम्रो कुरा ठिकै हाे तर हाम्रो चलनचल्ती छ। नगरे छरछिमेकले कुरा काटेर बसिखप्न दिन्नन्।
छाेरी-…! घाममा सुकाइदिनु यस्ता कुरा, जीवन चलाउने अरूले के भन्छन् भनेर हाेइन, आफूलाई के सजिलो लाग्छ, के गर्दा परिवारमा खुसी छाउँछ, त्यसमा ध्यान दिने हाे। चलनचल्ती सहीलाई पछ्याउने हाे तर अन्धविश्वासजन्य अर्थ न बर्थका कुरा छाड्दै जानुपर्छ।
आमा- बाबाले पनि चलन छाेडी भनेर नराम्रो मान्नुहाेला कि!
छाेरी- तपाईं पनि, अहिलेसम्म बाबालाई चिन्नुभएकै छैन कि क्या हाे!
बाबा त तपाईं खुसी रहेर उहाँलाई साथ दिए खुसी हुनुहुन्छ, न्यानाे माया दिनुस् अरू क्यै खाेज्नु हुन्न बाबाले, मलाई थाहा छ। हाे माया भने मनैदेखिकाे सहृदयी हाेस्।
आमाछाेरी अनुहार जुधाएर अलिकति मुस्कुराउँछन्।
आमाकाे मनमा माउभन्दा चल्ला बाठा मनमा आउँछ तर बाहिर निस्कँदैन।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।