१) मुक्तक
कहिले हुन्छु वारि हजुर कहिले हुन्छु पारि
जीवनको यात्रा जहिले चलेको छ जारी

समयको चक्रबाँधले कहाँ पुर्याइदिन्छ,
कहिले उजाड मरूभूमिमा कहिले चियावारी।
२) मुक्तक
समर्थनमा बजाउ ताली नत्र कानुन लाग्छ
सियो थियौ बन फाली नत्र कानुन लाग्छ
सिधालाई बाङ्गो बनाउ, बाङ्गोलाई सिधा,
असललाई गर गाली नत्र कानुन लाग्छ।
३) मुक्तक
भनसुन गर्छु सारा शक्ति पूरा लाउँछु भन्छे
किचकिच गर्छु लमीबाट कुरा लाउँछु भन्छे
घरमा स्वास्नी छन् है मेरी हुन्न भन्दा पनि,
मेरै हातको सिन्दुर टीका चुरा लाउँछु भन्छे।
४) मुक्तक
ढलपल हुन खोज्छ किन जिन्दगीको नाउ
दुख्छ शिर उसैगरी, दुखिरहन्छन् पाउ
छैन हजुर मलमपट्टी गर्ने कुनै विधि,
बल्झिरहन्छ छातीभित्र पुरानो त्यो घाउ।
५) मुक्तक
आफ्नैहरूले मिली मलाई दुखाएर गए
नमेटिने दिलभित्र दाग लगाएर गए
बल्झाएर पुरानो घाउ रुवाएर मलाई,
पीडा दिई घर न घाटको बनाएर गए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।