म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन्। पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिए।
‘तीन वटा टोलको फरकफरक समूह बनाएर क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणको काम भइरहेको छ’, उनले भने, “यसै हप्तादेखि विद्युत् सेवा सञ्चालन भएको छ। घारदेखि पाउद्वार र पाउद्वारदेखि पर्यटकीयस्थल खोपारा जाने पदमार्ग सञ्चालन भइसकेको छ।’

पछिल्लो केही दिनयता खानेपानी आपूर्ति सहज बनाउनका लागि श्रमदान चलिरहेको छ। हेलिकप्टरबाट ट्रान्सफर्मर लगेर विद्युत् आपूर्ति सञ्चालन गरिएको हो। पाउद्वारका बासिन्दा हरि तिलिजाले सरकारी निकायको सहयोगको आश गर्दा ढिलाइ र दुःख हुने भएकाले सम्भव भएका काम श्रमदानबाट गरिएको बताए।
गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्वार, घिरबाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षत्विक्षत बनाएको छ। सडकमा पैदल हिँड्नसमेत कठिन छ। खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन। खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएकाले पदमार्ग मर्मतमा जुटेको स्थानीयवासी जसे पुनले बताए। दुई सयभन्दा बढी घर रहेको पाउद्वारका चार वटा टोलमा यसअघि १७० घरपरिवारको बसोबास थियो। विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीको घरमा सरेका छन्।
गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन्। आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको छ। पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।