भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्।
भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्।

सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन्।
समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन्।
मन्त्री रावलले भनिन्, ‘धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ।’
बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफैँ पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन्।
मन्त्री रावलले भनिन्, ‘सरकारले जनताको हकहितमा के काम गरिरहेको छ? आगामी कार्ययोजना के छ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ। उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ।’
अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन्, ‘त्यस्तो हुँदैन। हामीले काम गरिरहेका छौँ। कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ।’
मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन्। उनले भनिन्, ‘जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ।’



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।