आफ्नो मौलिक पहिचान, भाषा र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले मगर समुदायले इटहरीमा आयोजना गरेको दुईदिने हुर्रा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
। मुख्य गरेर मगर युवा तथा युवतीले आ–आफ्नो भेषभूषा र जातीय पहिरनमा रहेर मादल, झ्यालीसहित सामूहिक ढंगले सम्मेलनको दोस्रो दिन शुक्रबार इटहरी रंगशालामा हुर्रा नृत्य प्रदर्शन गरे । हुर्रा नृत्य अवलोकन गर्न देशभरका मगर समुदायको प्रतिनिधीत्व रहे पनि नृत्य प्रदर्शन गर्न कोशी प्रदेशका जिल्लाबाट मात्र सहभागिता रहेको थियो । जसमा प्रायः एउटा जिल्लाबाट सातदेखि दसवटा टीमको सहभागिता रहेको नेपाल मगर संघकी केन्द्रीय महासचिव रञ्जिता मगरले बताइन् ।
पूर्वमा बसोबास गर्ने मगर समुदायको महत्वपूर्ण संस्कृतिको रुपमा हुर्रा नृत्य मानिन्छ । पश्चिम क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्य रहेपनि पूर्वका मगर समुदायको भने हुर्रा हो

सम्मेलनको दोस्रो दिन शुक्रबार नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षाबहादुर मगरले अब कला, संस्कृति र परम्पराको संरक्षण गर्न सरकार गम्भीर नभएसम्म निरन्तर दबाबमूलक अभियान चलाई रहने बताए । सो कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा, नेपाल मगर साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष नन्द घर्ती मगर, पदम थापामगरलगायतले सम्बोधन गरेका थिए । विहीबारबाट सुरु भएको हुर्रा सम्मेलनको उद्घाटन भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले प्रदेश सरकारले मगर समुदायको कला, संस्कृति र परम्परा संरक्षण गर्ने प्रतिबद्दता जनाएका थिए ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।