विज्ञापन
समाज

तिहार : यमदीप दान आज बेलुकीदेखि सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यसैगरी धन त्रयोदशी पर्व पनि आजै परेको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २१ गते शनिबार परेको समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए।

विज्ञापन

आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार परेको छ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

कात्तिक २२ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष भट्टराईले बताए।

आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान पनि भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता रहेको उनले उल्लेख गरे।

गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४७ पनि यसै दिनदेखि सुरु हुन्छ।

भाइटीको उत्तम साइत कात्तिक २५ गते ११ः०७ बजे

कात्तिक २५ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः०७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ।

भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २५ गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीसहित प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ।

बत्तीको उज्यालोले सहरमा घुम्दा पनि मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ।

नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।