अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्कँदै गरेको लु २ ख ३७२ नम्बरको बस बिहीबार दिउँसो करिब १ः१५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी लक्ष्मीप्रसाद पन्थीका अनुसार ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको थियो।

दुर्घटनाका बेला बसमा ३० जना यात्रु र मोटरसाइकलमा दुई जना सवार थिए। दुर्घटनामा बस तथा मोटरसाइकलमा सवार गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी पन्थीका अनुसार पाँच जना गम्भीर घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अन्य घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको छ।
घाइतेहरूलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको उनले जानकारी दिए। प्रहरीका अनुसार अन्य खतरामुक्त रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।