नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण कम्युनिस्ट तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै कि आफैं नेतृत्व लिन वा विगतदेखि एकताको पहलकदमी लिँदै आएको नेतृत्वलाई स्वीकार गर्न चुनौती दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।
विगतका कमजोरीबाट पाठ सिक्दै फेरि कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै संयोजक दाहालले भने, ‘या त तपाईंहरू अगाडि आउनुस् र नेतृत्व गर्नुस्, हामी साथ दिन तयार छौं। होइन भने शान्ति सम्झौतादेखि अहिलेसम्म पटक-पटक एकताको निम्ति पहल गर्ने पार्टी र नेतालाई स्वीकार गर्न तयार हुनुस्।’

देशलाई लथालिङ्ग पार्ने छुट कसैलाई नभएको भन्दै उनले एकताको महाअभियानमा जुट्न सबैलाई आग्रह गरे।
संयोजक दाहालले तत्कालीन नेकपा गठन गर्दा प्राप्त भएको झन्डै दुई तिहाइको ऐतिहासिक जनमत नेताहरूको अहंकारका कारण गुमेको स्मरण गरे।
संविधान निर्माणपछि एमाले र माओवादी मिलेर स्थिरता र समृद्धिको संकल्पसहित अघि बढे पनि त्यसलाई तीन वर्ष पनि बचाउन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए।
‘हामीभित्र कतै न कतै मनोगत ओभर कन्फिडेन्स र अहंकार देखियो। हामीले सबैलाई जितिसक्यौं, अब कसले के गर्न सक्छ र भन्ने अहंकार प्रमुख नेताहरूमा देखिँदा त्यो एकता जोगिएन,’ उनले भने।
एकपटक असफल हुँदैमा निराश हुन नहुने भन्दै उनले माकुराले पटक-पटकको प्रयासपछि जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्ने विश्वास व्यक्त गरे।
संयोजक दाहालले आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा सुशासन, भ्रष्टाचार नियन्त्रण, मिटरब्याज पीडितको समस्या समाधान र नागरिकता समस्या हल गर्न थालेपछि बिचौलिया र प्रतिक्रियावादी शक्तिहरू आत्तिएर सरकार ढालेको दाबी गरे।
संयोजक दाहालले समाजवादी मोर्चा र साना-ठूला समूहहरू जोडिँदै जाँदा आफूहरूको मोर्चामा आबद्ध दलहरूको संख्या २७ पुगेको जानकारी दिए। अझै ४-५ वटा समूह जोड्न सके सिङ्गो कम्युनिस्ट आन्दोलन एकताबद्ध हुने उनको भनाइ छ।
उनले नेकपा (एमाले), मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका समूहहरूलाई पनि संकीर्णता त्यागेर बृहत् ध्रुवीकरणमा आउन अपिल गरे।
राष्ट्रिय स्वाधीनता र जनताका अधिकार रक्षाका निम्ति कम्युनिस्ट शक्तिहरू निराशा त्यागेर आशावादी बन्नुपर्नेमा उनले जोड दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।