नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले माओवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको बताएका छन्। पार्टीको नाम परिवर्तन भए पनि मुख्य कुरा नाम नभई काम भएको उनको भनाइ छ।
राष्ट्रिय जागरण अभियानका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले माओवादी पार्टीको पहिचान, नेकपा एमालेसँगको भिन्नता र पार्टीमा नयाँ राजनीतिक उभार ल्याउने सम्भावनाबारे सोधेका प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।
‘माओवादी कहाँ गयो भन्ने कुरा माओवादी नेपाली कम्युनिस्ट पार्टीभित्रै छ। एकीकृत समाजवादी पनि नेपाली कम्युनिस्ट पार्टीभित्रै छ,’ उनले भने, ‘अन्य २६ वटा साना–ठूला घटकहरू सबै मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।’

उनले पार्टी एकतापछि सबै घटकका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्प गरिएको बताए। माओवादी पहिचान छोडेको भन्नेभन्दा पनि पार्टी रूपान्तरण भएको रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।
उनले विगतमा पार्टीले विभिन्न नामबाट राजनीतिक यात्रा अघि बढाएको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी, एकीकृत माओवादी, माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको बताए।
‘नाममा केही छैन, मुख्य कुरा काम हो । हामी काममा एकीकृत भएर अगाडि बढ्ने संकल्पमा छौँ,’ उनले भने।
दाहालले नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच कुनै भिन्नता नरहेको भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। उनले नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेपछि आफू नेतृत्वको सरकारबाट बाहिरिनुपरेको प्रसंग उल्लेख गर्दै दुई दलबीचको गठबन्धनले मुलुकमा राजनीतिक दुर्घटनाको अवस्था सिर्जना गर्ने चेतावनी आफूले पहिल्यै दिएको दाबी गरे।
साथै उनले कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर गठबन्धन बनाउनु संसदीय लोकतन्त्रका दृष्टिले पनि दुर्भाग्यपूर्ण थियो। ‘पहिलो र दोस्रो पार्टी मिलेर गठबन्धन बनाउनु लोकतन्त्र, अझ संसदीय लोकतन्त्र भन्नेहरूका लागि दुर्भाग्यपूर्ण हो। त्यसले देशमा दुर्घटना निम्त्याउँछ निम्त्याउँछ भनेकै थिएँ,’ उनले भने।
नेपाली कम्युनिस्ट पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अभियान सञ्चालन गर्दै आएको उल्लेख गरे। मध्यपहाडी र हुलाकी मार्ग अभियानमार्फत पनि जनतामाझ यिनै विषय उठाइएको उनले बताए।
‘एउटा भ्रष्टाचारका विरुद्ध लडेको, अर्को भ्रष्टाचारलाई संरक्षण गर्ने एउटै हुन सक्दैन भन्ने तपाईंहरूलाई थाहा छ,’ उनले पत्रकारहरूलाई भने ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।