नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमालेलाई एउटै देखाउने भाष्य निर्माण गर्न खोजिएको बताएका छन्। उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियान उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने र भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टी एउटै हुन नसक्ने तर्क गरे।
उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध लडिरहेको दाबी गर्दै एमालेसँगको राजनीतिक भिन्नतालाई त्यसैको उदाहरणका रूपमा प्रस्तुत गरे।

‘एउटा भ्रष्टाचारका विरुद्ध लडेको पार्टी हो, एउटा भ्रष्टाचारलाई संरक्षण गर्ने। एउटै हुन सक्दैन भन्ने तपाईँहरूलाई राम्रोसँग थाहा छ,’ उनले भने।
प्रचण्डले आफ्नो पार्टी र एमाले एउटै हुन् भन्ने भाष्य निर्माण गर्ने प्रयास देशभित्र मात्र नभई देशबाहिर पनि भइरहेको दाबी गरे। तर, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र राष्ट्रिय संकटसँग जोडिएका विषयमा विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्न सकिने उनको भनाइ छ।
उनले विगतमा नेपाली कांग्रेस र एमालेबीच बनेको गठबन्धनलाई राजनीतिक दुर्घटनाको पूर्वसंकेतका रूपमा आफूले व्याख्या गरेको पनि स्मरण गरे।
‘पहिलो र दोस्रो पार्टी मिलेर गठबन्धन बनाउनु संसदीय लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो। त्यसले देशमा दुर्घटना निम्त्याउँछ भनेका थियौँ, निम्त्याई पनि हाल्यो,’ उनले भने।
प्रचण्डले राजनीतिक आवश्यकताका आधारमा विभिन्न दल तथा शक्तिसँग सहकार्य गर्न सकिने भए पनि त्यसलाई पार्टी एकीकरणका रूपमा बुझ्न नहुने स्पष्ट पारे।
‘मिल्न डराउँदैनौँ भन्नुको अर्थ सबै कुरा मिल्यो भन्ने होइन, पार्टी नै एउटै हुन्छ भन्ने कुरा होइन। अहिले तत्काल एमालेसँग पार्टी एउटै हुने सम्भावना छैन,’ उनले भने।
उनको अभिव्यक्तिले राजनीतिक मुद्दामा सहकार्य गर्न तयार रहे पनि पार्टीको विचार, पहिचान र संगठनात्मक एकतालाई फरक विषयका रूपमा लिएको संकेत गर्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।