भोजपुर। धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन्।
खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन्। तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले धानबालीमा क्षति पुग्न थालेपछि किसानको मेहनत खेर जाने चिन्ता बढेको छ। वर्षाका कारण खेतमा पाकेको धान ढलेको छ भने काटेर राखेको धान भिज्ने र दाना झर्ने जोखिम बढेको किसानले बताएका छन्।

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तरको वर्षाले पाकेको धान खेतमै ढल्न थालेको बताए। “खेतमा धान पहेँलपुर भएर पाकेको छ। बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण पाकेको धान ढलेको छ। अझै पानी परिरहेमा धानबालीमा थप क्षति पुग्ने चिन्ता छ,” उनले भने।
धान भित्र्याउने मुख्य समयमा पानी परेपछि काट्ने, सुकाउने र घरमा थन्क्याउने काम प्रभावित भएको षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले बताइन्।
मौसममा आएको प्रतिकूलताका कारण किसानलाई खेतमा पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पुर्याउन कठिनाइ भएको उनको भनाइ छ। धान भोजपुरका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बालीमध्ये एक हो। वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्राउने समयमा मौसम प्रतिकूल हुँदा प्रभावित हुने देखिएको छ।
धान पाकेर काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन्। समयमै घाम लागेर खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्राउन नपाए उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।