सफलता हासिल गर्न उमेर वा अन्य कुनै कारणले रोकिनु हुँदैन भन्ने सन्देशसहित गैरआवासीय नेपाली संघकी पूर्वउपाध्यक्ष तथा सल्लाहकार यास्मिन बेगम शेइद यतिबेला मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धीका रूपमा अगाडि बढेकी छन्। साउदी अरबलाई कर्मथलो बनाएकी बेगम छोरीको प्रेरणा र परिवारको साथले मिसेस नेपाल वर्ल्डमा सहभागी भएकी हुन्। उनै बेगमसँग उनको जीवन, प्रतियोगितामा सहभागी हुनुको कारणलगायतका विषयमा गरिएको अन्तर्वार्ताको सम्पादित अंशः
प्रश्न: तपाईंलाई अचानक अन्तर्राष्ट्रिय स्तरको ‘मिसेस नेपाल वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन कसरी मन लाग्यो? यसमा सहभागी भएपछि अनुभव कस्तो भइरहेको छ?
-मेरो लागि यो एकदमै फरक यात्रा हो। आगामी दिनका लागि म उत्साहित छु।

प्रश्न: प्रायः सौन्दर्यलाई बाहिरी सुन्दरताका रूपमा लिइन्छ। शारीरिक बनावट वा रूपरङका हिसाबले तपाईं यसलाई कसरी लिनुहुन्छ?
– बाहिरी सौन्दर्य भनेको बाहिरी कुरा नै हो। वास्तविक सौन्दर्य के हो भन्ने कुरा मैले पनि भर्खरै बुझेँ। हामीले जे सोच्छौँ, सुन्छौँ र बुझ्छौँ, वास्तविक सौन्दर्य त्योभन्दा एकदमै फरक रहेछ।
प्रश्न: यो मञ्चको कुन कुराले तपाईंलाई आकर्षित गर्यो? यसका चुनौतीहरू के–के रहेछन्?
– यसअघि पनि म अन्य मञ्चहरूमा सहभागी भएकी थिएँ। यो मञ्चबारे भने मलाई एकपटक बुझ्न मन लाग्यो। यहाँबाट माया र सहयोग पनि पाइरहेकी छु। त्यस कारण पनि म यसमा अघि बढ्न सक्छु कि भन्ने लागेर सहभागी भएकी हुँ। मिसेस नेपाल वर्ल्डमा महिलाको भावना र आमाको भावनालाई सम्मान गरिन्छ। यसमा अहिलेसम्म कुनै नकारात्मक कुरा अनुभव गरेकी छैन।
प्रश्न: एनआरएनएको महिला उपाध्यक्ष हुँदा नेपाली महिलाका समस्या नजिकबाट देख्नुभयो। आज मिसेस नेपाल वर्ल्डको प्रतिस्पर्धीका रूपमा ती अनुभवले तपाईंलाई कसरी फरक बनाएका छन्?
– बाहिरबाट सुनिएजस्तो वास्तवमा होइन रहेछ। बाहिर देखिएजस्तो सजिलो पनि छैन। जब म यो प्रतिस्पर्धामा प्रवेश गरेँ, तब यसको चुनौती महसुस गरेँ। एनआरएनएमा महिला सशक्तीकरणका विषय समावेश थिए भने यसमा सौन्दर्यका कुरा आउँछन्। त्यस कारण यी दुई क्षेत्र एकअर्काभन्दा फरक छन्।
प्रश्न: विदेशमा बसेर नेपाललाई हेर्नु र नेपालमै बसेर नेपाललाई हेर्नुमा कस्तो फरक पाउनुभयो?
– नेपालमा मलाई छुट्टै प्रकारको आत्मीयता महसुस हुन्छ। महिलाका हकमा यहाँ दिइने मान–सम्मान प्रशंसनीय छ। मैले यहाँ सकारात्मक अनुभव गरेकी छु।
प्रश्न: तपाईं अर्थशास्त्रको पृष्ठभूमिबाट आउनुभएको छ। यदि तपाईंलाई नेपालका महिलाको आर्थिक स्वतन्त्रताका लागि एउटा मात्र नीति बनाउने अवसर दिइयो भने कस्तो नीति बनाउनुहुन्थ्यो?
– यी सबै कुराको आधार शिक्षा नै हो। युवादेखि महिलासम्म सबैले शिक्षामा जोड दिएको खण्डमा अवस्थामा सुधार आउन सक्छ। शिक्षामा सुधार भयो भने अवसरहरू पनि बढ्न सक्छन्।
प्रश्न: आज पनि विवाहित महिलाले अब परिवारमै सीमित हुनुपर्छ भन्ने सोच समाजमा छ। तपाईंको आफ्नै यात्राले त्यो सोचलाई के जवाफ दिन्छ? तपाईंलाई जीवनको कुन क्षणले यहाँसम्म पुग्न मद्दत गर्यो?
– मभित्र केही गर्न सक्छु भन्ने हुटहुटी र परिवारको समर्थनले मलाई यहाँसम्म पुग्न मद्दत गरेको हो। मैले विभिन्न संस्थामा महिलाको सशक्तीकरणलाई बढावा दिने उद्देश्यले काम गर्दै आएकी छु। विभिन्न मञ्चमा महिला हिंसा तथा दोहोरो नागरिकताको विषयमा आवाज उठाउने गरेकी छु।
प्रश्न: तपाईंले अहिलेसम्म पाएको सबैभन्दा ठूलो सफलता केलाई मान्नुहुन्छ ? पद, पहिचान, सम्बन्ध वा आफूलाई प्रमाणित गरेर देखाउने कुरालाई?
– म यसलाई एउटा कुरामा मात्रै सीमित राख्न चाहन्नँ। मैले विभिन्न पदबाट प्राप्त गरेको मान–सम्मान र विश्वव्यापी पहिचान पनि मेरा उपलब्धि हुन्। समग्रमा भन्नुपर्दा, मैले यी सबै कुरा प्राप्त गरेकी छु। यही नै मेरो सन्तुष्टि र उपलब्धि पनि हो। सबैले दिनुभएको माया, हौसला र विश्वासलाई नै म आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्छु।
प्रश्न: सुन्दर देखिनुभन्दा सुन्दर सोच राख्नु कत्तिको कठिन छ?
– एकदमै कठिन छ। सुन्दरता भनेको हामीले झट्ट हेर्दा देखिने कुरा मात्रै हो। यसले सशक्ततालाई साथ दिँदैन। जब हामीभित्र सुन्दर सोच हुन्छ, त्यसको प्रभाव हाम्रो अनुहारमा पनि देखिन्छ।
प्रश्न: सौन्दर्य प्रतियोगितामा सहभागी हुनुभएको छ। तपाईंको यात्रा मुकुट जित्नका लागि मात्रै हो कि छुट्टै पहिचान बनाउने उद्देश्य पनि छ?
– म जुन समुदायबाट आएकी छु, त्यसलाई समग्र नेपालको प्रतियोगिताका सन्दर्भमा हेर्दा यसले एउटा इतिहास पनि रच्न सक्छ जस्तो लाग्छ। मेरो उपलब्धिले आगामी पुस्तालाई प्रेरित गर्न सक्छ।
प्रश्न: विदेशमा बसेका नेपाली महिलालाई के सन्देश दिन चाहनुहुन्छ?
– वैदेशिक रोजगारीमा जानुभएका दिदीबहिनीहरू पक्कै पनि बाध्यताले जानुभएको होला। विदेशमा रहरले जानुभएका महिलाहरूका आफ्नै उद्देश्य र लक्ष्य हुन्छन्। अशिक्षित भएर कामदारका रूपमा विदेश जानुभएका महिलाहरूले पनि आफूलाई सुरक्षित र सक्षम बनाउनुपर्छ। यसले नेपाल फर्किएपछि पक्कै पनि लाभ पुर्याउनेछ।
विदेशमा सिकेका सानातिना सीपलाई नेपाल फर्किएपछि जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ। त्यसरी विदेशमा सिकेका सीपलाई स्वदेशमै उपयोग गर्न सकिन्छ।
प्रश्न: तपाईंलाई मानिसहरूले कसरी चिनून् भन्ने लाग्छ?
मलाई सक्षम, सशक्त, शालीन र शिक्षित महिलाका रूपमा चिनून् भन्ने लाग्छ। धेरैले मलाई त्यसरी नै लिनुहुन्छ, र त्यही पहिचान मेरा लागि प्रिय छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।