विज्ञापन
कृषि

फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाँके। भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ।

नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताइन्।

नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिब एक दशक भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ।

विज्ञापन

जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या वर्सेनि बढ्दै गएको छ। मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि फूलको माग बढेको उनले बताइन्।

“फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो”, बिन्दुले भनिन्, “यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ।”

विन्दुले १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ। सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताइन्। स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ।

नेपालगञ्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यो वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन्।

फरक–फरक पेसा तथा व्यवसायमा आबद्ध उनीहरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेतीमा अहिले सयपत्री फूल फुलेर ढकमक्क भएको छ। तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूलको बिक्री सुरु भइसकेको सुभाषजङ्ग शाहले बताए।

“नेपालगन्जमा फूलको मागलाई लक्षित गरी खेती सुरु गरेका हौँ, चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारी गरिरहेका छौँ,” शाहले भने, “फूल तयार भइसकेको छ, ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा पनि दिइरहेका छौँ।”

स्थानीयस्तर मै फूल उत्पादन गरी बजारमा बिक्री गर्ने प्रयासले तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन्।

निर्वाहमुखी फूल लगाउँदै आएकोमा पछिल्लो केही वर्षयता बाँकेमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिइन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।