देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
काठमाडौं, दाङ, कास्की, स्याङ्जा, दैलेख, पर्सा, सिरहा, रुकुम पश्चिम र तनहुँमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो। दुर्घटनाहरूमा परी अन्य ६ जना घाइते भएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका-९ गाईश्वारास्थित सडकमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग.१ त ५७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा वालिङ-१० का ६१ वर्षीय नन्दलाल बुढा मगर र सोही ठाउँ बस्ने पर्वत घर भएका ४३ वर्षीय प्रेम राना मगर छन्।
गम्भीर घाइते उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही केन्द्रमा र चालकको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।
काठमाडौं महानगरपालिका-७ चाबहिलमा सोमबार बिहान प्र.३-०१-००६ ख ०६३० नम्बरको बसले बा.प्र-०२-०५३ प १८६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका-१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारी रहेका छन्। उनको चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको राप्ती गाउँपालिका-३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३-०२-०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा राप्ती-६ भगवानपुरका ३० वर्षीय मोटरसाइकल चालक प्रबिन चौधरीको मृत्यु भएको छ।
भालुबाङ अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो। मोटरसाइकलमा सवार घाइते अन्य २ जनाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ भने ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।
कास्कीको पोखरा महानगरपालिका-२६ अर्घौचोकमा आइतबार साँझ ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्री मन बहादुर पुनको मृत्यु भएको छ।
पर्वतको जलजला गाउँपालिका-५ घर भई पोखरा-२६ बस्ने पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँको व्यास नगरपालिका-१२ कमलबारीस्थित सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.१ क ५९५८ नम्बरको ट्रकको ठक्करबाट सोमबार बिहान नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ खारखोलामा सोमबार दिउँसो लु.प्र.०१-००१ ज ६४० नम्बरको गाडी र रा.४ प १५२६ नम्बरको मोटरसाइकल जुध्दा सानीभेरी-३ का २७ वर्षीय काशीराम विकको मृत्यु भएको छ।
गम्भीर घाइते उनको मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको बरियारपट्टी गाउँपालिका-३ हवल्दार चोकमा बा.प्र-०२-०५७ प १११० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बरियारपट्टी-४ सोपुरका १८ वर्षीय चालक गौराधा रमण यादवको मृत्यु भएको छ। उनको प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।
दैलेखको गुराँस गाउँपालिका-४ चिसापानीमा लु.प्र.०२-००१ क ०१९३ नम्बरको ट्रकसँग क.प्र.०२-००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किँदा चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ का ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको छ। आइतबार दिउँसो गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।
पर्साको जीराभवानी गाउँपालिका-५ मा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका ४५ वर्षीय संजय खवासको मृत्यु भएको छ। आइतबार राति घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।