विज्ञापन
कला तथा मनोरञ्जन

दही खान्छन्, दुधले चुठ्छन्, उनी पनि मर्छन्!

१) मुक्तक

भारी बोक्छन् गिटी कुट्छन् उनी पनि मर्छन्

रातदिन पूजापाठमा जुट्छन् उनी पनि मर्छन्

विज्ञापन

धर्म कर्म अमीर फकिर मृत्युमा भेद हुन्न

दही खान्छन् दुधले चुठ्छन् उनी पनि मर्छन्।

२) मुक्तक

जुत्ता वस्त्र किन लाए सबै भन्न सक्छन्

अन्नपानी किन खाए सबै भन्न सक्छन्

भोकप्यास न त मेट्न सक्छ न त जाडो छेक्छ

सुन र हिरा किन लाए कोही भन्न सक्छन्?

३) मुक्तक

सामान बोकेँ शहर धाएँ छोराछोरी बढेपछि

कमसल खाएँ दुख पाएँ छोराछोरी बढेपछि

शहर लगी सन्तान पाल्दा ऋणले घरवार उडे पनि

थोत्रा ब्रान्डेड लाउन पाएँ छोराछोरी बढेपछि।

४) मुक्तक

सन्ततिको गालीगलौज श्रीमतीको झर्कोफर्को

दिनदिनै माग बढिराख्छ गहना र चोलो बर्को

घरको मालिक बन्ने पुरुष अभागी वा भाग्यमानी

आश्रित भई बाँच्नुभन्दा मालिक बनी बाँच्न चर्को।

५) मुक्तक

कुरा गर्छ्यौ मेरो नाम तिम्रो मुटुमा लेखेको

प्रत्यक्ष छ तिम्रो पाउले मेरो शिरमा टेकेको

बन्धन छैन झ्यालढोका खुला हुँदा पनि

टाढिएर बस्नलाई केले होला छेकेको?

६) मुक्तक

मैले घाम लाग्छ भन्दा उनी भन्छिन् पानी पर्छ

मैले काम लाग्छ भन्दा उनी भन्छिन् हानि गर्छ।

पतिव्रता धर्म उनको जहिल्यै बोल्दा जित्नुपर्ने

बच्चालाई नअह्राउनू भन्छिन् आफैं जानी गर्छ।

७) मुक्तक

धर्मभित्रै पर्छ भन्छन् जुठो सुतक बार्नेहरू

भ्रमका भरमा पितृलाई बैतरणी तार्नेहरू

अन्धविश्वास बढेपछि मानवता हट्दो रैछ

धर्मै गर्‍यौँ भन्छन् तड्पाई पाल्तु प्राणी मार्नेहरू।

८) मुक्तक

मरन्च्याँसेदेखि मलाई नखाएको मान्नेहरू

पानी जमी पेट फुल्दा अघाएको जान्नेहरू

अड्कल गीता पढ्नेलाई भित्री कुरा थाहा हुन्न

ओठले दाँत नछोपिँदा हाँस्यो भनी ठान्नेहरू।

९) मुक्तक

खुशी सुख सुन्दरता सबै फाल्नुपर्ने

शरीरभरि अनेक थरी रोगै पाल्नुपर्ने

जिन्दगीको उत्तरार्ध जटिल रैछ धान्न

बाँच्नलाई कतै काट्नु कतै टाल्नुपर्ने।

१०) मुक्तक

फूलले झैं बास्ना पनि छर्न नसकिने

राम्रो त के नराम्रो नि गर्न नसकिने

लाग्थ्यो केही गर्नैपर्छ मान्छे भएपछि

केही गर्न नसके नि मर्न नसकिने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।