काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए ।
दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् ।

काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन् । गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजारबढी चालकमाथि कारबाही
दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन् ।
यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो ।
देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना
प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो ।
दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।