दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।
दशैं बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू भएका छैनन् । अस्पतालमा उपचारार्थ बिरामीको लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि अनुरोध गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरवीसी) र एचएको मौज्दात सकिएको छ । यसले गर्दा बिरामीको लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको उनले बताएका छन् ।

रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पुरा भएका स्वस्थ युवायुवतीलाई रक्तदानका लागि डा. यादवको अनुरोध छ ।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशालकुमार भण्डारीले बताए ।
रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको भन्दै उनले स्वयंसेवी रक्तदाता तथा संघसंस्थाहरुलाई रक्तदानका लागि आव्हान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवाको फोन नं. ०१५३८८४८५, ०१५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ ।
साथै आफ्नो मोबाइलको प्लेस्टोरमा गएर NRCS BTS मा गएर पनि रक्तसञ्चारका बारेमा जानकारी लिनका लागि नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।