अर्नब आँधीको प्रभावले वर्षा हुनसक्ने डर बढेपछि भक्तपुरका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ।
सम्भावित आँधी र पानीले धानबालीमा क्षति पुर्याउन सक्ने चिन्ताले भक्तपुरका सबै खेतबारीमा किसानहरू धान काट्ने र भित्राउने चटारो परेको हो।
चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलको कासन फाँटमा बुधबार धान काट्ने, चुट्ने र भित्राउनेहरूको भीड नै देखिए। त्यहाँ एक दर्जन परिवारको झन्डै पाँच सय मानिस धान भित्राउनमा व्यस्त देखिए।

पाकेर पहेँलपुर भएका धानका खेतमा किसानहरू बिहानैदेखि धान काट्न जुटेका थिए। कतै परिवारका सदस्य मिलेर धान काटिरहेका थिए भने कतै खेतमा कामदार लगाएर धान भित्र्याउन लागिपरेका छन्।
‘दुईचार दिन पछाडि मात्रै काट्न ठिक्क भए पनि यहाँ सबैले दुईचार दिनमै धान काटेर सकाए’, धान काट्न भ्याईनभ्याई किसान श्रीराम गाइजू भन्छन्, ‘फेरि आँधीबेहरी, हावाहुरी, पानी पर्यो भने धान भित्र्याउन नपाइएला भन्ने चिन्ता सबैमा छ।’

भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका घना बस्तीले भरिँदै जाँदा खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको छ।
तुलनात्मक रूपमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा अझै पनि धेरै खेतीयोग्य जमिन छन्।
ती क्षेत्रमा धान खेती र धान काट्ने दृश्य बढी देखिएका छन्। विशेष गरी यी दुई नगरपालिकाका ग्रामीण भेगमा किसानहरू पाकेको धान काटेर सुरक्षित रूपमा भित्राउन व्यस्त छन्।
लामो समयको मेहनतपछि पाकेको धान खेतमै रहँदा पानी परेमा भिज्ने, ढल्ने र गुणस्तरमा ह्रास आउने चिन्ताले किसानहरू हतारमा धान काट्न बाध्य भएका हुन्।

वर्षभरि खान पुग्ने अन्न भित्राउने समयमै मौसम प्रतिकूल हुने सम्भावनाले किसानको चिन्ता पनि बढाएको छ।
अर्का किसान कृष्ण प्रजापति मौसमको अनिश्चितताका कारण किसानहरूले पाकेको धान खेतमा नराखी सकेसम्म छिटो काटेर सुरक्षित स्थानमा भित्र्याउने प्रयास गरिरहेको देखिएको बताए।
सम्भावित वर्षाअघि नै धान काटेर सुकाउने र भण्डारण गर्ने काम पूरा गर्न किसानहरूलाई अहिले भ्याइनभ्याइ भएको उनको भनाई छ।
सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सम्भावित भारी वर्षाका कारण सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले सूचना जारी गरी नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन जिल्लावासीमा अनुरोध गरेकी छिन्।
प्रशासनले जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी आउने, पहिरो जाने तथा डुबान हुन सक्ने भएकाले जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रशासनले हनुमन्ते, मनोहरा, चक्रपथ आसपासका लगायतका नदी तथा खोलाका किनारमा बसोबास गर्ने, पहिरोको जोखिममा रहेका भूभाग र भिरालो जमिनमा बस्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी जोखिमयुक्त स्थानमा आवतजावत नगर्न, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न, वनजंगल काट्ने, भिरालो क्षेत्रमा खेती गर्ने तथा नदी किनारमा जोखिम बढाउने गतिविधि नगर्न पनि अनुरोध गरिएको छ।
बाढीपहिरोबाट प्रभावित हुनसक्ने बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।