बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चक्रवात भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको छ। कमजोर हुँदै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने अनुमान गरिएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिमका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा असिनापानीको समेत जोखिम रहेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। अन्य विभिन्न क्षेत्रमा अरेन्ज अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरिएको छ।
मौसम प्रतिकूल हुने अनुमान गरिएकाले आगामी केही दिन अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन तथा सम्भावित बाढी, पहिरो र चट्याङबाट जोगिन सम्बन्धित निकायले आग्रह गरेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।