मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको भनिएको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएको छ। आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिकहरू शिविरमा संलग्न रहेको पाइएपछि १० जनाका कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ।
विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको हो।
गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा १० जना विदेशी नागरिकले सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दंगालले गरेका थिए।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए। मोरङको कानेपोखरीस्थित बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने भन्दै तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरेका थिए। हाल ती भवन धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको बताइएको छ।
यस विषयमा विवाद सुरु भएपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले किराना व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ। हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ।
उक्त कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिक सहभागी रहेको पाइएको छ। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ।
उल्लिखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।