काठमाडौं। तृतराज दासको अर्धशतक र मोइन अलीको उत्कृष्ट बलिङको मद्दतले जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी मोइन अलीले २१ र अविशेक तिवारीले अविजित २४ रन बनाए। पोखराका सकिब अल हसनले ३ विकेट लिए।
१ सय ४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ जनकपुरका मोइन अलीले १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए। सैफ हसन र हरमित सिंहले समान २-२ विकेट हात पारे।

यो जितसँगै जनकपुरले ३ खेलबाट ४ अंक जोडेको छ। पोखराको भने यो लगातार दोस्रो हार हो। एनपीएल अन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।