जनकपुर बोल्ट्सविरुद्ध १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १० ओभरको समाप्तिमा केही दबाबमा देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म पोखराले ३ विकेट गुमाएर ६६ रन बनाएको छ।
प्रतियोगितामा पहिलो जित हात पार्नका लागि अब पोखरालाई अन्तिम १० ओभरमा ८२ रनको दरकार छ। टोलीको आवश्यक रनरेट प्रतिओभर ८.२ पुगेको छ।
पावरप्लेमा आक्रामक लयमा देखिएका कप्तान कुशल भुर्तेल आउट भएपछि पोखराको रनगतिमा ब्रेक लागेको हो। कुशल सातौं ओभरमा ललित राजवंशीको बलमा क्याच आउट भए। उनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा ३५ रनको इनिङ्स खेले।

कुशलको विकेटपछि जनकपुरका स्पिनरहरूले खेलमा कसिलो पकड बनाएका छन्। पछिल्ला पाँच ओभरमा पोखराले १ विकेट गुमाएर २६ रन मात्र बटुल्न सक्यो।
हाल क्रिजमा अनुभवी खेलाडी शाकिब अल हसन १५ बलमा ८ रन तथा विकेटकिपर अर्जुन घर्ती ८ बलमा ५ रन बनाएर संघर्ष गरिरहेका छन्।
जनकपुरका लागि बलिङतर्फ मोइन अलीले ३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिएका छन् भने ललित राजवंशीले ३ ओभरमा १८ रन दिएर १ विकेट हात पारेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।