विज्ञापन
शिक्षा

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार

काठमाडौं।शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी, चिकित्सा शिक्षा आयोगको स्थापना, छात्रवृत्ति व्यवस्थापन र देशभर चिकित्सा शिक्षाको पहुँच विस्तारलाई सहमति कार्यान्वयनका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको हो ।

मन्त्रालयका अनुसार चिकित्सा शिक्षालाई नीतिगत तथा संस्थागत रूपमा व्यवस्थित बनाउने, शैक्षिक अवसर विस्तार गर्ने र सुशासन कायम गर्ने दिशामा विभिन्न सुधारका काम भएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि चिकित्सा शिक्षा आयोग स्थापना भएको र आयोगमार्फत साझा प्रवेश परीक्षा सञ्चालन, तहगत तथा विधागत कोटा निर्धारण, छात्रवृत्तिमा विद्यार्थी छनोट तथा व्यवस्थापन र शैक्षिक संस्थाको नियमनसम्बन्धी काम हुँदै आएको छ ।

विज्ञापन

“विभिन्न समयमा यस विषयमा भएका अध्ययन, कार्यदलका प्रतिवेदन एवम् अपेक्षित सुधारका विषयहरूको चरणबद्ध कार्यान्वयनबाट आज चिकित्सा शिक्षा सापेक्षित रूपमा व्यवस्थित, नेपालको आकर्षणको विषय बनेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षाको पहुँच विस्तारका लागि सरकारले विभिन्न प्रदेशमा शैक्षिक संस्था स्थापना तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाका लागि पूर्वाधार विकाससँगै पठनपाठनसमेत सुरु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएर यस वर्षदेखि चिकित्सा शिक्षाका विभिन्न विधामा पठनपाठन सुरु भएको छ । त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षाका लागि शैक्षिक संस्थाको पूर्वाधार विकास भइरहेको मन्त्रालयले जनाएको छ।

चिकित्सा शिक्षा आयोगमार्फत शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया, तहगत तथा विधागत कोटा निर्धारण र विद्यार्थी भर्ना व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी तथा मापदण्डमा आधारित बनाइएको मन्त्रालयको भनाइ छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, नियमावली २०७७ तथा सम्बन्धित मापदण्डअनुसार छात्रवृत्ति कोटा निर्धारण गरी ठूलो सङ्ख्यामा विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रा. डा. केसीले चिकित्सा शिक्षामा सुधार, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न समयमा उठाएका विषयले नीतिगत तथा संस्थागत सुधारमा योगदान पुर्‍याएको मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो पटक २०८३ साउन ११ गते प्रा. डा. केसीसँग भएको सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन भई क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।

“पछिल्लो सहमतिमा भएका बुँदा कार्यान्वयनका लागि कार्यदलहरू गठन भई क्रियाशील छन्,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षा सुधारका साथै शिक्षा क्षेत्रको सेवा प्रवाह र सुशासनका विषयलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।