काठमाडौं। नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजीनामा दिनुपर्ने दबाब रहेको भनी आएका समाचार तथा टिप्पणीहरूप्रति गम्भीर आपत्ति जनाएको छ। प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक र आधारहीन प्रचारले नागरिकमा भ्रम सिर्जना गर्ने र सङ्गठनको छविमा नकारात्मक असर पार्ने बताएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा पुष्टि नभएका र अनुमानका भरमा तयार पारिएका सूचनाको पछि नलाग्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरिएको छ। प्रहरीले कुनै पनि सूचना सार्वजनिक गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, नागरिकको सत्य र तथ्यपरक सूचना पाउने अधिकारको सम्मान गर्दै प्रहरी सङ्गठन सरकारको नीति तथा निर्देशनअनुसार आफ्नो संवैधानिक र कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध छ। सङ्गठनले भ्रामक प्रचार वा अनावश्यक दबाबबाट आफू विचलित नहुने स्पष्ट पारेको छ।

प्रहरीले सङ्गठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि आँच आउने गरी नियोजित रूपमा गलत सूचना फैलाउने कार्य भएमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कानुनी कारबाही गरिने चेतावनी दिएको छ। आम नागरिकलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र अपुष्ट सामग्रीहरू सामाजिक सञ्जालमा सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।