विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट छ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको घटनामा उत्तर कोरियाको नाम जोडिएपछि नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकाप्रति आक्रोश व्यक्त गरेकी छन्।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले चोरीमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको बताएपछि उनले त्यसलाई ‘बेतुका बयानबाजी’ भन्दै खारेज गरेकी हुन्। अमेरिकाले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय साइबर अपराधसँग जोडेर आफ्नो देशको छवि बिगार्न खोजेको आरोपसमेत उनले लगाएकी छन्।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार जोङले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा हुने साइबर अपराधका घटनामा उत्तर कोरियालाई अनावश्यक रूपमा जोड्ने गरेको बताएकी हुन्। उनका अनुसार पछिल्लो अमेरिकी आरोपले वासिङ्टनको उत्तर कोरियाप्रतिको शत्रुतापूर्ण व्यवहार फेरि पुष्टि गरेको छ।

‘अमेरिकाको दाबी बेतुका बयानबाजी हो र यसमा कुनै नयाँ कुरा छैन,’ उनले भनेकी छन्।
उनले विश्वका विभिन्न भागमा हुने साइबर अपराधका घटनालाई उत्तर कोरियाकै गतिविधिका रूपमा प्रस्तुत गर्नु आफ्नो देशविरुद्धको गम्भीर राजनीतिक उत्तेजना भएको बताएकी छन्। अमेरिकाले यस्ता आरोपमार्फत अन्तर्राष्ट्रिय जनमतलाई भ्रमित पार्न खोजेको उनको भनाइ छ।
जोङले अमेरिकाको पछिल्लो व्यवहारलाई ध्यानमा राख्दै उत्तर कोरियाले विभिन्न विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको पनि बताएकी छन्। यद्यपि, उनले कुन विषयमा पुनर्विचार गर्ने भन्नेबारे स्पष्ट पारेकी छैनन्। उनको पछिल्लो अभिव्यक्तिलाई उत्तर कोरियाले अमेरिकासँगको सम्बन्ध र सम्भावित वार्ताबारे आफ्नो धारणा पुन: समीक्षा गर्न सक्ने संकेतका रूपमा हेरिएको छ।
विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले गत शुक्रबार आफ्नो प्लेटफर्ममा भएको साइबर आक्रमणबाट छ अर्ब डलरभन्दा बढीको क्रिप्टोकरेन्सी चोरी भएको जनाएको थियो। यो घटनालाई अहिलेसम्मकै सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी चोरीका घटनामध्ये एक मानिएको छ।
एफबीआईले उक्त घटनामा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ट्रेडरट्रेटर संलग्न रहेको बताएको थियो। उक्त समूह लाजरस ग्रुपसँग सम्बन्धित मानिन्छ। अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार यही समूह गत वर्ष बाइबिट क्रिप्टोकरेन्सी एक्सचेन्जबाट करिब एक अर्ब ५० करोड डलर बराबरको रकम चोरी भएको घटनामा पनि संलग्न थियो। बाइनान्स र बाइबिटका दुवै घटनाको रकम जोड्दा करिब सात अर्ब ८० करोड डलर हुन्छ।
तर, उत्तर कोरियाले बाइनान्स र बाइबिट दुवै घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। जोङले पछिल्लो आरोपलाई पनि उत्तर कोरियाको अन्तर्राष्ट्रिय छवि बिगार्ने प्रयासको संज्ञा दिएकी छन्। उनका अनुसार अमेरिकाले उत्तर कोरियालाई विभिन्न साइबर अपराधसँग जोडेर राजनीतिक दबाब सिर्जना गर्न खोजिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग कूटनीतिक सम्बन्ध पुनस्र्थापित गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। दुई देशबिचको सम्बन्ध सुधारका लागि उनले वार्ताको सम्भावनाबारे पनि चासो देखाएका छन्। तर, पछिल्लो घटनामा उत्तर कोरियाको संलग्नताबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा ट्रम्पले अनुसन्धानबाट मात्रै वास्तविकता थाहा हुने बताएका थिए।
‘म यसबारे चिन्तित छैनँ। हामी जानकारी लिइरहेका छौँ। उत्तर कोरियाको संलग्नता छ कि छैन भन्ने हामीलाई थाहा छैन,’ ट्रम्पले भनेका थिए।
यसैबिच, उत्तर कोरियाले रणनीतिक क्रुज क्षेप्यास्त्रका लागि नयाँ क्लस्टर वारहेड परीक्षण गरेकोे छ। उत्तर कोरियाको पछिल्लो गतिविधि र अमेरिकी आरोपबिच दुई देशको सम्बन्ध थप संवेदनशील बन्न सक्ने देखिएको छ। यसले सम्भावित कूटनीतिक वार्ताको वातावरणमा समेत चुनौती सिर्जना गर्न सक्छ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण विदेशी मुद्रा जुटाउन कठिनाइ भोगिरहेको उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरी र अन्य साइबर गतिविधिलाई आम्दानीको माध्यम बनाउँदै आएको छ। यस्तो गतिविधिबाट प्राप्त रकम देशको अर्थतन्त्र सञ्चालन गर्नुका साथै आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमका लागि प्रयोग हुने गरेको उनीहरूको विश्लेषण छ।
साइबर सुरक्षा विज्ञहरूका अनुसार उत्तर कोरियाली ह्याकर समूह विश्वकै सक्रिय क्रिप्टोकरेन्सी चोरमध्ये पर्छन्। उनीहरूले ठुला क्रिप्टोकरेन्सी एक्सचेन्ज र डिजिटल सम्पत्तिको कारोबार हुने प्लेटफर्मलाई लक्षित गर्दै आएका छन्। परम्परागत वित्तीय प्रणालीमा पहुँच कठिन भएपछि डिजिटल सम्पत्तिको माध्यमबाट रकम जुटाउने गतिविधि उत्तर कोरियाका लागि थप महत्त्वपूर्ण बनेको विश्लेषकहरूको भनाइ छ।
ब्लकचेन विश्लेषण गर्ने संस्था एलिप्टिकका अनुसार उत्तर कोरियाले सन् २०२६ मा अहिलेसम्म सात अर्ब डलरभन्दा धेरैको क्रिप्टोकरेन्सी चोरी गरेको अनुमान छ। क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त रकम उत्तर कोरियाको विदेशी मुद्रा आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको विश्लेषकहरू बताउँछन्।
दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार उत्तर कोरियाको कुल गार्हस्थ्य उत्पादन सन् २०२५ मा ३५ अर्ब नौ करोड डलर बराबर थियो। यस हिसाबले बाइनान्सबाट चोरी भएको रकम उत्तर कोरियाको वार्षिक आर्थिक उत्पादनको करिब छैटौँ भाग बराबर हुन्छ। यसले पछिल्लो चोरीको आर्थिक परिमाण कति ठुलो थियो भन्ने देखाउँछ।
अर्कोतर्फ, ब्लकचेन विश्लेषण गर्ने संस्था चेनालाइसिसका अनुसार सन् २०२६ मा क्रिप्टोकरेन्सी ह्याकिङबाट भएको कुल क्षतिमध्ये ८९ प्रतिशत उत्तर कोरियासँग सम्बन्धित रहेको अनुमान छ। सन् २०२१ मा यस्तो हिस्सा १५ प्रतिशत मात्रै थियो। यसले पछिल्ला वर्षमा क्रिप्टोकरेन्सी चोरीका ठुला घटनामा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता बढेको देखाउँछ।
चेनालाइसिसका अनुसार एउटा ह्याकिङबाट हुने औसत क्षति पनि बढेको छ। सन् २०२१ मा औसत पाँच करोड छ लाख ५० हजार डलर क्षति हुने गरेकोमा सन् २०२६ मा यो बढेर १८ करोड ५६ लाख ५० हजार डलर पुगेको छ। ठुला डिजिटल प्लेटफर्ममाथि हुने आक्रमणबाट ह्याकरले एकैपटक ठुलो रकम हात पार्न सक्ने भएकाले यस्ता आक्रमण बढेको विश्लेषण गरिएको छ।
चेनालाइसिसका एसिया प्रशान्त क्षेत्रका वरिष्ठ प्रबन्धक एलेक जेब्रिकले ठुला क्रिप्टोकरेन्सी एक्सचेन्जलाई लक्षित गर्ने प्रवृत्ति बढेको बताएका छन्। ‘यसलाई ठुलो सिकार खोज्ने रणनीति (बिग गेम हन्टिङ) भन्न सकिन्छ। ठुला एक्सचेन्जलाई निशाना बनाउन धेरै समय र जटिल प्रविधि आवश्यक पर्न सक्छ, तर त्यसबाट प्राप्त हुने रकम पनि ठुलो हुन सक्छ,’ उनले भनेका छन्।
क्युङनाम विश्वविद्यालयको सुदूरपूर्व अध्ययन संस्थानका प्राध्यापक लिम युल–चुलका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरियाका लागि क्रिप्टोकरेन्सी चोरी आम्दानी जुटाउने महत्त्वपूर्ण माध्यम बनेको छ। अमेरिकाले क्रिप्टो वालेट, रकम शुद्धीकरण गर्ने सञ्जाल र क्रिप्टोकरेन्सी एक्सचेन्जलाई लक्षित गरेर थप कदम चालेमा उत्तर कोरियाको आम्दानीको महत्त्वपूर्ण स्रोत प्रभावित हुन सक्ने उनले बताएका छन्।
उनका अनुसार उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त रकम विभिन्न माध्यमबाट लुकाएर प्रयोग गर्ने गरेको आरोप छ। त्यसैले चोरी भएको रकम कहाँ पुग्छ र कसरी प्रयोग हुन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले निगरानी बढाइरहेका छन्।
बाइनान्सबाट ठुलो रकम चोरी भएपछि ग्राहकले पनि आफ्नो सम्पत्ति निकाल्न थालेका थिए। सोमबारसम्म ग्राहकले कुल चार अर्ब ७२ करोड डलर बराबरको रकम निकालेका थिए। ठुलो परिमाणमा रकम बाहिरिएपछि कम्पनीले ग्राहकको विश्वास कायम राख्न विभिन्न कदम चाल्न थालेको थियो। बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले मंगलबार हङकङमा आयोजित फिनटेक सप्ताह कार्यक्रममा ग्राहकले सुरुका २४ घण्टामा अपेक्षाअनुसार ठुलो रकम निकाले पनि त्यसपछि अवस्था सामान्य भएको बताएका थिए।
‘पहिलो २४ घण्टामा निकासी बढेको थियो। तर त्यसपछि अवस्था लगभग सामान्य भएको छ,’ उनले भने।
उनले बाइनान्सको वित्तीय अवस्था निकै बलियो रहेको र आक्रमणबाट प्रभावित टोकनमध्ये ९५ प्रतिशत पुन: पूर्ति गरिसकिएको बताएका थिए। उनका अनुसार कम्पनीले यस्तो क्षति बेहोर्न सक्ने क्षमता राख्छ। ग्राहकले ठुलो रकम निकाले पनि कम्पनीको समग्र वित्तीय अवस्थालाई त्यसले गम्भीर असर नगरेको उनको दाबी थियो।
बाइनान्सले ग्राहकको विश्वास कायम राख्न शुल्कमा छुट, कारोबारका आधारमा पुरस्कार र छनोट गरिएका केही प्रतिफल योजनामा वार्षिक १० प्रतिशतसम्म प्रतिफल दिने अभियानसमेत सुरु गरेको छ। नोभेम्बर २१ सम्म चल्ने उक्त अभियानमार्फत कम्पनीले नयाँ प्रयोगकर्ता आकर्षित गर्ने प्रयास गरेको छ।
१० हजार डलर बराबरको कुल कारोबार पूरा गर्ने योग्य ग्राहकले पुरस्कार पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
आक्रमणपछि दुई दिनभन्दा बढी समयसम्म केही सम्पत्तिको निकासी रोकेको बाइनान्सले आइतबारदेखि क्रमश: निकासी खुलाउन थालेको थियो। मंगलबार थप सम्पत्तिको निकासीसमेत खुलाइएको थियो। निकासी पुन: सुरु भएयता बाइनान्सको प्लेटफर्ममा रहेको कुल सम्पत्तिको करिब तीन प्रतिशत बराबर रकम बाहिरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पछिल्लो समय प्रतिघण्टा बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुन थालेको छ। यसले ग्राहकको गतिविधि सामान्य अवस्थामा फर्किन थालेको संकेत गरेको बाइनान्सको दाबी छ। यद्यपि, यति ठुलो साइबर आक्रमणपछि क्रिप्टोकरेन्सी एक्सचेन्जको सुरक्षा प्रणाली र ग्राहकको डिजिटल सम्पत्तिको सुरक्षाबारे प्रश्न उठेका छन्।
यस घटनाले क्रिप्टोकरेन्सी कारोबारमा साइबर सुरक्षाको जोखिम कति ठुलो हुन सक्छ भन्ने देखाएको छ। उत्तर कोरियाले अमेरिकी आरोप अस्वीकार गरिरहेको भए पनि यस घटनापछि डिजिटल सम्पत्तिको सुरक्षा, चोरी भएको रकमको स्रोत र ह्याकर समूहको गतिविधिबारे अन्तर्राष्ट्रिय निगरानी थप कडा हुन सक्ने देखिएको छ।
एजेन्सीको सहयोगमा



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।