एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मंगलबार भारी वर्षा भएको छ।
चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय बन्द गर्नुका साथै रेल र केही हवाई सेवा रोकिएको छ।
भारतीय मौसम विभागका अनुसार चक्रवात मुरासु मंगलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो।

त्यसबेला आँधीको अधिकतम हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर थियो।
चक्रवात कमजोर हुँदै गए पनि त्यसपछि केही घण्टासम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले वर्षाका कारण तल्लो क्षेत्रमा बाढी आउनुका साथै जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
भारतीय मौसम विभागका अनुसार तटीय क्षेत्रमा १.५ मिटरसम्म अग्लो समुद्री छाल उठ्न सक्ने सम्भावना छ।
आँधी आउनुअघि नै अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेका थिए।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको थियो भने रेल सेवा र केही उडानसमेत रोकिएका थिए।
मुरासु चक्रवात बङ्गालको खाडीमा विकसित भएको हो। यस क्षेत्रको न्यानो समुद्री पानीले पूर्वी भारत, बंगलादेश र म्यान्मामा प्रभाव पार्ने घातक चक्रवातलाई ऊर्जा प्रदान गर्दै आएको छ।
यसअघि गत साता चक्रवात अर्नबले आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो।
उक्त चक्रवातका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने घर तथा पूर्वाधारमा क्षति पुगेको थियो। साथै, करिब दुई लाख एकड खेतीयोग्य जमिन डुबानमा परेको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।