भारत, बिहारका मुख्यमन्त्री सम्राट चौधरी आफ्नो एउटा अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा ट्रोल भएका छन्।
दिल्ली भ्रमणको तेस्रो दिन मंगलबार उनले बिहारमा ‘क्राइम’ हुन सक्ने तर ‘अपराध’ नहुने बताएका थिए। उनको यही अभिव्यक्तिलाई लिएर विपक्षी राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवले व्यंग्य गर्दै आलोचना गरेका छन्।
मुख्यमन्त्री चौधरीले आफ्नो सम्बोधनमा भनेका थिए, ‘बिहारमा क्राइम हुन सक्छ, अपराध हुँदैन। यहाँ अपराधको अवधारणा नै समाप्त भएको छ। अपराधी पनि छैनन्।’ उनको यो भनाइको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।

तेजस्वी यादवले सम्राटको भिडियो सेयर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत यस विषयमा जोडेका छन्। उनले लेखेका छन्, ‘बिहारमा क्राइम हुन सक्छ, अपराध हुँदैन! मेरा प्यारा देशवासी, प्रधानमन्त्री मोदीले छानेका मुख्यमन्त्रीले यस्तो भनिरहेका छन्। उनीमाथि सात वटा हत्याको आरोप छ।’
तेजस्वीले मञ्चमा उपस्थित भारतीय प्रशासनिक सेवा (आईएएस) र भारतीय प्रहरी सेवा (आईपीएस) का अधिकारीहरूमाथि पनि प्रश्न उठाएका छन्। उनले सम्राटसँग काम गर्दा ती अधिकारीहरूले सम्मानित महसुस गरिरहेका छन् कि अपमानित भन्दै कटाक्ष गरेका छन्। साथै, प्रधानमन्त्री मोदीले सम्राटमार्फत बिहारलाई ध्वस्त पार्ने जिम्मेवारी दिएको हो भन्दै प्रश्न गरेका छन्।
सम्राटले राजमार्ग तथा सडक यातायात मन्त्रालय र बिहार सरकारबिच नदीको पानी व्यवस्थापनसम्बन्धी सम्झौताका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कार्यक्रममा भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी पनि उपस्थित थिए।
सम्बोधनका क्रममा सम्राटले बिहारको विकासका लागि पानी व्यवस्थापनलाई ठुलो चुनौती रहेको बताएका थिए। उनका अनुसार नेपालबाट सात प्रमुख नदी बिहारमा प्रवेश गर्ने भएकाले राज्यले बाढी र पानी व्यवस्थापनको समस्या भोग्नुपरेको छ। नदीको पानी व्यवस्थापन गर्न सके बिहारको विकासले गति लिने उनको भनाइ थियो।
उनले झारखण्ड बिहारबाट छुट्टिएपछि राज्यले ८७ प्रतिशत राजस्व गुमाएको पनि बताएका थिए। खानी सञ्चालनलाई पुनः अघि बढाउने र आपूर्तिको व्यवस्थापन गर्ने योजना रहेको उनले उल्लेख गरेका थिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।