विज्ञापन
कृषि

कृषि यन्त्रले सहज बनाउँदै खेतीपाती

बाँके। गाउँ–गाउँमा आधुनिक कृषि यन्त्रको प्रयोग बढेसँगै बाँकेका किसानलाई खेतीपाती गर्न सहज भएको छ । विशेष गरी धान र गहुँ झार्ने थ्रेसर, धान काट्ने रिपर तथा खेत जोत्ने मिनि टिलर जस्ता उपकरणले किसानको समय र श्रम बचत गर्नुका साथै लागत घटाउन सहयोग गरेका छन्। कृषि यन्त्रको प्रयोगले ग्रामीण युवाका लागि स्वरोजगारको अवसर समेत सिर्जना गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ का किसान मोहम्मद इस्लाम खाँलाई अझै पनि एक दशकअघिको खेतीपातीको कठिनाइ सम्झना हुन्छ। त्यतिबेला पाकेको धानका बिटा बाँधेर खलामा लैजानुपर्ने वा खेतमै खलो बनाएर खेताला लगाई धान झार्नुपर्ने बाध्यता थियो। अहिले भने उनी धान थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्छन्।

“अहिले यो मेसिनका कारण पाकेको धान झार्न असाध्यै सजिलो र छिटो भएको छ”, खाँले भने, “गाउँका सबैजसो किसानले धान थन्क्याउन थ्रेसर प्रयोग गर्छन्। वैदेशिक रोजगारीलगायतका कारण खेतीपातीमा जनशक्ति कम हुँदै गएका बेला यो मेसिन किसानका लागि ठूलो सहारा बनेको छ।”

विज्ञापन

नेपालगञ्ज–१९ सुईया गाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले पनि एक दशकदेखि खेत जोत्न ट्रयाक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्। यसअघि अर्मपर्म र खेताला लगाएर खेती गर्ने गरेका उनलाई अहिले प्रविधिले काम गर्न सहज बनाएको छ।

“गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ। पाइहाले पनि दैनिक ६ सयदेखि एक हजार रुपैयाँसम्म ज्याला माग्छन्”, क्षेत्रीले भने, “मजदुर लगाउँदा समय धेरै लाग्छ। थ्रेसर प्रयोग गर्दा झन्झट बिना समयमै धान भित्र्याउन पाइन्छ। पैसा भएपछि रोपाइँदेखि उत्पादन भित्र्याउनसम्म धेरै सजिलो भएको छ।”

गाउँगाउँमा थ्रेसर मेसिनको माग बढेसँगै यसले स्थानीयस्तरमा स्वरोजगारको अवसर पनि सिर्जना गरेको छ। नेपालगञ्ज–१९ का अमजत अली शेखले सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गर्दै आएका छन्। उनका अनुसार विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका किसानले थ्रेसरको बढी माग गर्छन्।

“थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धान झार्न सकिन्छ”, शेखले भने, “पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनु पर्ने झन्झट हुँदैन। काम छिटो हुन्छ, खर्च कम लाग्छ र समय पनि बचत हुन्छ।”

शेखले तीन लाख ५० हजार रुपैयाँमा किनेको थ्रेसर मेसिनबाट धानको सिजनमा सबै खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। उनले शुल्कबापत प्रतिघण्टा दुई हजार ५०० रुपैयाँ वा एक क्विन्टल धान बराबर १२ किलो धान लिने गरेका छन्।

केही वर्षअघिसम्म गाउँका किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गर्थे। अहिले भने प्रत्येक किसानको खेतमै मेसिन पुर्‍याउनु पर्ने हुँदा इन्धन र समय बढी खर्च हुने गरेको शेखले बताए। अन्य गाउँबाट समेत थ्रेसरको माग बढेपछि प्रतिस्पर्धा पनि बढेको उनको भनाइ छ। धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म किसानको खेतमा थ्रेसर पुर्‍याउने गरेको उनले बताए।

राप्ती सोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले मजदुर लगाएर धान झार्न लामो समय लाग्ने र धेरै जनशक्ति आवश्यक पर्ने भएकाले किसानको आकर्षण थ्रेसरतर्फ बढेको बताए।

उनका अनुसार आधुनिक कृषि यन्त्रले जनशक्ति अभावको समस्या कम गर्नुका साथै समयमै बाली भित्र्याउन र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सहयोग गरेको छ।

वलीका अनुसार सहकारीमा आबद्ध आठ हजारभन्दा बढी किसान सदस्यले कृषि कार्यमा आधुनिक प्रविधि प्रयोग गर्दै आएका छन्। मेसिनको प्रयोगले श्रम र समय बचत हुनुका साथै खेतीको लागत घटाउन मद्दत पुगेको उनले बताए। कृषि उपकरण खरिदमा सरकारले अनुदान वा सहुलियत उपलब्ध गराउन सके यान्त्रिकीकरण विस्तार भई गाउँगाउँमा स्वरोजगारका अवसर बढ्ने उनको भनाइ छ।

कृषिमा श्रम अभाव र बढ्दो लागत चुनौती बन्दै गएपछि बाँकेका किसानले आधुनिक प्रविधिलाई विकल्पका रूपमा अपनाउन थालेका छन्। किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले धान काट्ने रिपर र धान झार्ने थ्रेसर मेसिनप्रति किसानको आकर्षण पछिल्ला वर्षमा बढ्दै गएको बताए।

उनका अनुसार रिपर मेसिनले प्रतिघण्टा करिब १० देखि १५ कट्ठासम्म धान काट्न सक्छ। यसमा करिब एक लिटर डिजेल खपत हुन्छ। त्यसैगरी, मिनि टिलरले प्रतिघण्टा करिब पाँचदेखि १० कट्ठासम्म जमिन जोत्न सक्छ र यसमा पनि करिब एक लिटर डिजेल खपत हुने उनले बताए।

कृषि यान्त्रिकीकरणको प्रभाव खेतीपातीमा मात्र सीमित छैन। घाँस काट्ने मेसिन, दाना कुट्ने उपकरण र पशुपालनमा प्रयोग हुने काउ म्याट जस्ता सामग्रीको प्रयोग पनि बढ्दै गएको केसीले बताए।

उनका अनुसार उपयुक्त प्रविधि छनोट, मेसिन सञ्चालनसम्बन्धी सीप, मर्मतसम्भारको व्यवस्था र सहज वित्तीय पहुँच सुनिश्चित गर्न सके कृषि उत्पादनको लागत घटाउनुका साथै व्यावसायिक उत्पादन विस्तार गर्न सकिन्छ।

सरकारले अनुदान वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक किसानको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै केसीले मेसिन उपलब्ध गराउने मात्र नभई त्यसको प्रयोग गर्ने सीप र बजारको व्यवस्था गर्ने नीति आवश्यक रहेको बताए।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय जिल्लाका धेरैजसो किसानले आधुनिक कृषि यन्त्र तथा उपकरण प्रयोग गरिरहेका छन्। प्रविधिको प्रयोगले खेतीपाती सहज बनाउनुका साथै बालीको नोक्सानी घटाउन र उत्पादन बढाउन सहयोग गरेको उनले बताइन्।

“कृषि हाम्रो अर्थतन्त्रको आधार हो। अब परम्परागत श्रममा मात्र निर्भर रहेर उत्पादन र आम्दानी बढाउन कठिन हुँदै गएको छ”, शर्माले भनिन्, “हलोजोतदेखि धान कटानीसम्म र पशुपालनदेखि उत्पादन प्रशोधनसम्म प्रविधिको विस्तार गर्न सके किसानको श्रमलाई सम्मान गर्दै कृषिलाई उद्योगसँग जोड्न सकिन्छ। प्रविधिमैत्री कृषि नै आत्मनिर्भर र समृद्ध कृषिको महत्त्वपूर्ण आधार बन्न सक्छ।”

कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधिमैत्री बनाउन विभिन्न कृषि औजार, मेसिन तथा उपकरण खरिदमा अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको शर्माले जानकारी दिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।