काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाबाट कुरियरमार्फत नेपाल पठाइएको लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही स्थानका ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले १० कात्तिकमा कागजातको आवरणमा लुकाइछिपाई ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरेको थियो।
विदेशबाट कुरियरमार्फत लागुऔषध आएको सूचना पाएपछि ब्यूरोको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा शङ्कास्पद सामग्री जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। प्रहरीले डेलिभरी नियन्त्रण विधि प्रयोग गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले गाँजा नेपाल ल्याउनुको मुख्य उद्देश्य, यसको गन्तव्य र अन्य व्यक्तिको संलग्नताका विषयमा अनुसन्धान केन्द्रित गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।