काठमाडौं। पोखराको माझठानामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाका विविध पक्षको विश्लेषण गरिएको छ।
गत असोज २३ गते विद्यार्थी बोकेको ग २ ख १७४७ नम्बरको बस माझठानाबाट कालिकातर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन र टायरमा समस्या रहेको औँल्याएको छ। बसको मर्मत अभिलेख अद्यावधिक नभएको र अनिवार्य प्राविधिक जाँचपास नगरिएको प्रतिवेदनमा उल्लेख छ।
चालकले अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको बयान दिए पनि समितिले तीव्र गति र प्राविधिक पक्षलाई नै मुख्य कारण मानेको छ। साथै, सडक किनारमा सुरक्षा बार र गार्डरेलको अभावले दुर्घटनाको गम्भीरता बढाएको प्रतिवेदनमा उल्लेख छ। उक्त बस श्रद्धा भण्डारीको नाममा दर्ता भई विद्यालयले भाडामा सञ्चालन गरेको पाइएको छ।

विद्यालयको प्रत्यक्ष नियन्त्रणबाहिरका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्ने भन्दै समितिले मापदण्ड पूरा गरेका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिएको छ। समितिले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालकको योग्यता र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न सिफारिस गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।