विज्ञापन
राजनीति

कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताको कृपापात्र आवश्यक छैन : देवराज चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीका सबै सांगठनिक गतिविधि विधानबाट निर्देशित हुने बताएका छन्।कांग्रेसभित्रको आन्तरिक असहमतिलाई लिएर लोकतन्त्रविरोधीहरूले खुसी मनाउन आवश्यक नभएको भन्दै चालिसेले पार्टीका आन्तरिक समस्या समाधान गर्न कांग्रेस आफैँ सक्षम हुने बताएका हुन्।

‘कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यकता पर्दैन,’ चालिसेले भनेका छन्, ‘लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो।’

पार्टीभित्र विमति र असहमति हुन सक्ने भन्दै उनले त्यस्ता विषय आन्तरिक भएकाले लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुँदै जाने बताएका छन्। कांग्रेसभित्रको असहमतिलाई देखाएर लोकतन्त्रविरोधीहरूले हर्षबढाइँ गर्नु आवश्यक नरहेको उनको भनाइ छ ।

विज्ञापन

‘कांग्रेसको आन्तरिक विषय मिलाउन कांग्रेस आफैँ सक्षम छ। सत्तारूढ पक्षले आफ्नो फुस्किएको धोती आफैँ सम्हालोस्, अन्यत्र आँखा लगाउन जरुरत छैन,’ चालिसेले भनेका छन्।

उनले कांग्रेसलाई अस्थायी प्रतिक्रियाका आधारमा बनेको भीडका रूपमा व्याख्या गर्न नमिल्ने पनि बताएका छन्। सामाजिक सञ्जालका स्टाटस र उत्तेजनात्मक भाषणका आधारमा कांग्रेसको सिद्धान्त र इतिहास निर्माण नभएको उल्लेख गर्दै उनले कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नुबीच ठूलो अन्तर रहेको बताएका छन्।

अहिले सत्ताको आडमा दबाइएका, लुकाइएका वा ओझेलमा पारिएका प्रश्नहरूको जवाफदेहिताको दिन आउन सक्ने उनको भनाइ छ। ‘इतिहासले कसैलाई सधैँ उन्मुक्ति दिँदैन,’ उनले भनेका छन्।

निरंकुश शासकहरूको पतनको उदाहरण दिँदै चालिसेले शक्ति स्थायी नहुने र अहंकारको आयु अझ छोटो हुने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।