अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुई वटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन्। तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शंकास्पद आणविकस्थल पनि रहेको उनले उल्लेख गरेका छन्।
ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए। यद्यपि, उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे।
अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्याउँदै उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पु¥याइसकेको दाबी गरे।

फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौं। अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौं।”
‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उनले उक्त स्थललाई पनि निशाना बनाउनु पर्ने बताए। सो स्थान भूमिगत आणविक परिसर भएको आशंका गरिएको छ। तर, इरानी सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताए। उनले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि चाहेको स्पष्ट पारे।
अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने ट्रम्पका चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका छन्।
ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने संकेत गरेका छन्। यसअघि उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको बताएका थिए। –रासस /एएफपी



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।