विज्ञापन
राजनीति

आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्। आफूविरुद्ध नियोजित रूपमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै उनले प्रहरी अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत थापाले पार्टीको विशेष महाधिवेशन विद्रोहको परिणाम भएको र त्यसमा आफूहरू पनि सहभागी भएको स्पष्ट पारे। विशेष महाधिवेशनलाई भदौ २३ र २४ गतेको युवा विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि गरिएको प्रयासका रूपमा व्याख्या गर्दै उनले त्यसको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक चलखेल नभएको बताए।

‘नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,’ थापाले भने।

विज्ञापन

प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका फिक्सर इमन सापकोटासँग जोडिएको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा प्रतिक्रिया दिँदै उनले अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए। अडियोमा सुनिएको भनिएको विषयमा सार्वजनिक रूपमा जवाफ दिइरहनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

उनले अब प्रश्न आफूहरूलाई नभई अडियो प्रकरणमा जोडिएका व्यक्तिलाई सोध्नुपर्ने बताए। अनुसन्धान निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले घटनामा संलग्न सबै पक्षको भूमिका खोतल्न र सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे।

‘अब प्रश्न हामीलाई सोध्ने होइन। जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने हो। अनुसन्धान निष्पक्ष भयो कि भएन भनेर हेर्ने र यसमा को–को जोडिन्छन्, ती सबै कुरा खोतल्ने जिम्मेवारी सम्बन्धित निकायको हो,’ उनले भने।

आफूले अडियो प्रकरणका कारण डराएर राजनीतिक भेटघाट नगरेको स्पष्टीकरण दिँदै थापाले मधेश प्रदेश सरकारको विश्वासको मत र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेतासँग संवाद गरेको बताए। मधेशमा कांग्रेस नेतृत्वको सरकारले आगामी पाँच–सात दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले राजनीतिक भेटघाट स्वाभाविक भएको उनको भनाइ थियो।

यसक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटलाई पनि उनले नियमित राजनीतिक संवादका रूपमा व्याख्या गरे। आफूले लुकाउनुपर्ने कुनै विषय नभएको भन्दै उनले सरकारका विषयमा गर्नुपर्ने छलफल खुला रूपमा भइरहेको बताए।

थापाले वर्तमान सरकारलाई पाँच वर्षको जनादेशको सम्मान गर्दै काम गर्न आग्रह गरे पनि सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। विपद्बाट घरबारविहीन भएका नागरिकको पुनर्स्थापना, सुकुम्बासी समस्या समाधान, रोजगारी सिर्जना र लगानीको वातावरण निर्माण सरकारको मुख्य प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

‘यति ठूलो विपद् आएको छ, धेरै मानिस घरबारविहीन भएका छन्। उनीहरूको पुनर्स्थापना कसरी गर्ने भन्ने सरकारको ध्यान हुनुपर्छ। अर्थतन्त्रमा रोजगारी र लगानीको अवस्था कहाँ छ ? यी विषयमा सरकारको ध्यान जानुपर्छ,’ उनले भने।

सरकारले सही काम गर्दा सहयोग गर्ने र गलत काम गर्दा प्रश्न उठाउने कांग्रेसको नीति रहने पनि उनले स्पष्ट पारे। लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने र राज्यका संस्थाहरू कमजोर बनाउने प्रयास भए कांग्रेस मौन नबस्ने उनको चेतावनी थियो।

आफूहरूले सरकारमाथि प्रश्न उठाउन थालेपछि नियोजित रूपमा अर्को भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउँदै थापाले त्यसकै कारण सरकारका गलत काममाथि प्रश्न उठाउन नछाड्ने बताए।

आफ्नो नैतिकता र राजनीतिक स्वच्छतामाथि विश्वास गर्न आग्रह गर्दै थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गरे।

‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। म स्वच्छ छु, मेरो हात सफा छ,’ उनले भने, ‘म कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। त्यसैले मलाई माया गर्ने साथीहरू ढुक्क रहनुस्।’

आफूले विगतमा शक्तिशाली सरकार र आफ्नै पार्टी नेतृत्वको सरकारका गलत कामको समेत विरोध गर्दै आएको स्मरण गराउँदै उनले प्रश्न उठाएकै कारण आफ्नो चरित्रमाथि पटक–पटक प्रहार हुने गरेको बताए।

अन्त्यमा थापाले नियोजित प्रचार र हल्लाका कारण सरकार तथा राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउने नागरिकको अधिकार कमजोर हुन नहुनेमा जोड दिए। लोकतन्त्र र मुलुकको प्रगतिका लागि प्रश्न गर्ने संस्कृतिको संरक्षण आवश्यक रहेको उनको भनाइ थियो।

‘यत्रो प्रायोजित हल्लाका बीचमा सही प्रश्न मर्नु हुँदैन। प्रश्न मर्‍यो भने लोकतन्त्र सकिन्छ, लोकतन्त्र मात्रै होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ थापाले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।