बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले सोमबार जारी गरेको चेतावनी तथा परामर्शअनुसार चक्रवातको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा देखिन सक्नेछ। कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार विभिन्न प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले चक्रवात अर्नब थप शक्तिशाली बन्दै गएको र अति शक्तिशाली हुने सम्भावना रहेको जनाएको छ। उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना रहेको प्राधिकरणको सूचनामा उल्लेख छ।

चक्रवातको प्रभावले कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।
धान काट्ने र भित्र्याउने काम बिहीबारअघि नै गर्न आग्रह
सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२ गते बिहीबारअघि नै धान काट्ने र भित्र्याउनेलगायत कृषि कार्य सम्पन्न गर्न आग्रह गरेको छ।
यस अवधिमा पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन प्राधिकरणले अनुरोध गरेको छ। सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ।
आवश्यक परे सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्राधिकरणले त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
सम्भावित जोखिमबारे सर्वसाधारणलाई सुसूचित गर्न, प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आग्रह गरिएको छ।
प्राधिकरणले मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी पालना गर्नसमेत अनुरोध गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।