 
            मंसिर २९ ,काठमाडौं । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ ।
कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन । तर हल व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् ।
सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फी रुपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको उनको भनाइ छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले विगत ७ महिनायता सरकारसँग आफूहरुको व्यवसायसँग जोडिएका विभिन्न माग राख्दै आएपनि आश्वासन मात्र दिएको बताए । ‘हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो । अब बाध्य भएर हामी हल खोल्ने निर्णयमा पुगेका हौं’ उनले भने ।
पुस १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको महासचिव शर्माले बताए ।
व्यवसायीहरुले अहिले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेका छन् । हल खुले पनि अहिले नयाँ फिल्म भने प्रदर्शन हुने छैन । हलहरु पनि दर्शकको संख्याका आधारमा चलाउँदै जाने महासचिव शर्माले बताए । ‘
हल व्यवसायीले चलचित्र क्षेत्रलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायमा राख्नुपर्ने, हल सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज मिनाहा हुनपर्ने, मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने माग गरेका छन् ।
अहिले देशभर १९५ पर्दा छन् ।
 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                