सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणको हेडक्वाटर सिरहाले बुधबार राति ठुलो परिमाणमा लागुऔषध गाँजासहित बोलेरो जीप र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्माचोक नजिकैबाट विशेष अपरेशन चलाएर ११ सय दुई किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमनगंज थापाले जानकारी दिएका छन्।
गागन खोलापुलबाट गाँजा लोड गरेर जीप आउँदै गरेको सूचना पाएर सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले गाँजा लोड गरिएको बा १४ च २९४ नम्बरको बोलेरो जीप र जीपलाई स्कटिङ गरिरहेको स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थापाले बताए।

बरामद गाँजा २६ वटा बोरामा प्याक गरिएको र ती सबै जीपमाथि नै लोड गरिएको उनले बताए। सशस्त्रको टोली देखेपछि गाँजा लोड गरिएको जीपको चालक र मोटरसाइक चालक भाग्न सफल भएको थापाले बताए।
बरामद गाँजा, बोलेरो र मोटरसाइकललाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।
गाँजा लोड गरेको जीपलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिनु र चालक, कारोबारीहरू नियन्त्रणमा नआउने कार्यले सशस्त्रको कार्यशैलीमाथि मिलोमतोको आरोप सिरहाका स्थानीयहरूले लगाएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।