लण्डन। इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालन डी’ओर जितेका छन्। उनी सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ्लिस खेलाडी बनेका छन्।
३३ वर्षीय बायर्न म्युनिखका फरवार्ड केनले गत सिजन क्लब र देशका लागि खेलेका ६५ खेलमा ७३ गोल गरेका थिए। उनको योगदानमा बायर्नले लिग र कप दुवै उपाधि जितेको थियो। विश्वकपमा तेस्रो भएको इङ्ल्यान्डका लागि उनले छ गोल गरेका थिए। सन् २०२३ मा बायर्नमा आबद्ध भएपछि उनको उत्कृष्ट गोल प्रदर्शनले व्यक्तिगत सफलताको बाटो खोलेको हो।
महिलातर्फ स्पेनकी एलेक्सिया पुटेलासले तेस्रोपटक ब्यालन डी’ओर जितेकी छिन्। उनले गत सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। घुँडाको गम्भीर चोटपछि उनी पुनः शीर्ष स्थानमा फर्किएका हुन्। यसअघि लगातार तीन वर्ष विजेता बनेकी एटाना बोनमाटी खुट्टा भाँचिएका कारण यसपटक उपाधि दौडबाट बाहिरिएकी थिइन्।

बार्सिलोनाका १९ वर्षीय यमलले लगातार तेस्रोपटक वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जिते। पुरुष ब्यालन डी’ओरमा उनी तेस्रो भए भने एमबाप्पे दोस्रो स्थानमा रहे। विश्वकप, च्याम्पियन्स लिग र ला लिगामा सर्वाधिक गोलकर्ता बने पनि एमबाप्पेले यसपटक प्रमुख टोलीगत उपाधि जित्न स।
स्पेनलाई विश्वकप उपाधि दिलाएका लुइस डे ला फुएन्टे उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए। बार्सिलोनाका पेरे रोम्युले महिला प्रशिक्षकको पुरस्कार जिते। लगातार दोस्रोपटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट जर्मेन वर्षको उत्कृष्ट पुरुष क्लब बन्यो। स्पेनका उनाई सिमोन र काटा कोल उत्कृष्ट पुरुष तथा महिला गोलकिपर घोषित भए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।