झापा। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन्। असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन्।
अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन्।
पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिइन्। तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन्।

पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ। सबैभन्दा धेरै पर्यटक भुटानबाट भित्रिएका छन्। असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ।
तीन महिनामा भूटानबाट ४७८ जना, अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराईले बताइन्।
यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ। चालु आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताइन्।
पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन्। जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।