सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित सात जनालाई १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो, कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, तत्कालीन उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी., तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादव रहेका छन्।

उनीहरू पाँचै जनासँग जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो माग गरिएको छ। नगरप्रमुखको हैसियतमा रहेर भ्रष्टाचारजन्य कसुर गरेकाले तेलीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ।
यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतोविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो, कैद र जरिवानाको मागदाबी गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नगरपालिकाको वडा नम्बर ६ र ७ स्थित पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालन गर्दा आपसी मिलेमतोमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरिएको हो।
नगर कार्यपालिकाको २०७८ साउन ४ गतेको बैठकमार्फत आर्थिक वर्ष २०७७/७८ को राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ नियमविपरीत छुट दिइएको थियो। स्थानीय तहमा कर छुट दिने अधिकार नगरसभालाई मात्र हुने कानुनी तथा विधायिकी सिद्धान्तविपरीत कार्यपालिका बैठकबाट कर छुट दिइएको अख्तियारको ठहर छ।
त्यस्तै, आर्थिक वर्ष २०७८-७९ मा प्रतिस्पर्धाबिनै सोझै अमानतमा गोलबजार-८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई हाटबजार सञ्चालन गर्न दिइएको थियो।
यादवबाट असुली गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा राजस्व दाखिला नगरी हिनामिना गरिएको पाइएको छ।
राजस्व नबुझाउने ठेकेदार यादवलाई मतियारका रूपमा मुख्य कसुरदार सरह नै सजाय, बिगो र जरिवाना मागदाबी गरिएको आयोगले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।