चितवनको रत्ननगर नगरपालिकामा शुक्रबारदेखि चारदिने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ।
रत्ननगर नगरपालिकामा शुक्रबार एक भव्य समारोहबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको हो। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले पानसमा दीप प्रज्वलन गरी चारदिने प्रतियोगिताको उद्घाटन गरे।
उद्घाटनका अवसरमा नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले आफ्नो प्रस्तुति दिएको थियो। कार्यक्रममा चितवन तेक्वान्दो डोजाङको भवन निर्माणमा योगदान पुर्याएका दीपक बाबु नेपाललाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ र डोजाङ प्रमुख रोशन खानले सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रममा विभिन्न देशका खेलाडीको मार्चपास, स्थानीय थारु समुदायको नाच तथा सांस्कृतिक र सांगीतिक प्रस्तुतिसमेत प्रतियोगिताका आकर्षण बनेका थिए।
कार्यक्रममा पूर्वमुख्यमन्त्री बानियाँले खेलकुद देशको प्रतिष्ठा बढाउने माध्यम मात्र नभई स्वस्थ नागरिक निर्माणको आधार पनि भएकाले यसको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताए। प्रत्येक नागरिकले मानसिक स्वास्थ्यका लागि पनि खेलकुदमा सहभागी हुन आवश्यक रहेको उल्लेख गर्दै उनले राज्यले जनतालाई यसतर्फ अग्रसर गराउनुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बानियाँले बागमती प्रदेश सरकारले चितवनलाई नेपालकै पर्यटकीय नगरीका रूपमा विकास गर्दै यस प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन लगानी गर्दै आएको बताए।
नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न चितवनका सबै स्थानीयले सहयोग गरेको उल्लेख गर्दै यस्ता प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिए। विभिन्न देशका खेलाडीले सुविधासम्पन्न खेल पूर्वाधारमा प्रतिस्पर्धा गर्न पाए विश्वभर नेपालबारे सकारात्मक सन्देश जाने र खेलाडी उत्पादनमा पनि मद्दत पुग्ने उनको भनाइ थियो।
चितवन तेक्वान्दो डोजाङको आयोजनामा सुरु भएको प्रतियोगिता कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ। चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले प्रतियोगिताका खेल शनिबारदेखि सुरु हुने जानकारी दिए।
च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका देशका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए।
टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका संयोजक प्रज्वल दवाडीका अनुसार ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्से विधामा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए।
प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले यस प्रतियोगितामार्फत चितवनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।