विज्ञापन
समाज

सुरुङ खनेर फरार आठ कैदीबन्दी अझैँ भेटिएनन्, छानबिन गर्न डीआईजी डाेल्पामा

जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनामा प्रहरीको उच्च नेतृत्वले छानबिन थालेको छ।

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर सुरुङ बनाइ कैदीबन्दी बाहिरिएको घटनापछि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट आएको पाँच सदस्यीय टोली डोल्पा पुगेको छ। कारागारको सुरक्षा निगरानी, सुरक्षाकर्मीको जिम्मेवारी र प्रशासनिक व्यवस्थापनमा भएको कमजोरीबारे दुवै टोलीले स्थलगत अनुसन्धान गर्ने भएका छन्।

केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। प्रदेश प्रहरी प्रमुख र केन्द्रीय टोलीले कारागारको सुरक्षा संरचना, कैदीबन्दीको निगरानी तथा फरार हुनुअघिको अवस्थाबारे अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोससिंह राठौरले बताए। उनका अनुसार घटनास्थलको निरीक्षणसँगै सुरक्षामा खटिएका कर्मचारीको जिम्मेवारी र निगरानी प्रणालीबारे समेत अनुसन्धान हुनेछ।

विज्ञापन

घटनास्थल पुगेका डीआईजी सापकोटाले कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही देखिएको बताएका छन्। छानबिनबाट दोषी देखिने सुरक्षाकर्मी वा सम्बन्धित व्यक्तिमाथि कारबाही गरिने उनको भनाइ छ। ‘म आफैँ घटनास्थलमा पुगेर छानबिन गर्छु। छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिलाई निलम्बन गरिनेछ,’ उनले भने।

कारागारभित्र कैदीबन्दीले लामो समय लगाएर सुरुङ खन्दा पनि सुरक्षा निकायले समयमै जानकारी नपाउनु घटनाको सबैभन्दा गम्भीर पक्ष बनेको छ। प्रारम्भिक अनुसन्धानअनुसार कैदीबन्दीले भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ बनाएका थिए। सुरुङ खन्ने क्रममा सेप्टिक ट्यांकी परेपछि त्यसलाई छल्दै बाहिर निस्किएको पाइएको छ। सुरुङ चारदेखि पाँच फिट गहिरो रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल)ले बताएकी छन्।

लागुऔषध कारोबारको घटनापछि कारागारको ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै कैदीबन्दी फरार भएका थिए। नयाँ इन्चार्ज खटाइएको तीन दिनमै शुक्रबार राति घटना भएको प्रमुख जिल्ला अधिकारी हमालले बताएकी थिइन्। शनिबार बिहान ६ बजे कैदीबन्दी गणना गर्दा आठ जना अनुपस्थित भेटिएपछि उनीहरू फरार भएको खुलेको थियो।

फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन्। उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए।जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि यसअघि प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय जिल्ला छानबिन समिति गठन गरिएको थियो। प्रदेश प्रहरी प्रमुख र केन्द्रीय टोलीसमेत परिचालन भएपछि कारागार प्रशासनको भूमिका, सुरक्षाकर्मीको ड्युटी, नियमित निरीक्षण र सुरक्षा निगरानीमा भएको कमजोरीबारे थप अनुसन्धान हुने भएको छ।

घटनापछि प्रहरीले फरार कैदीबन्दीको खोजीका लागि सम्भावित नाका र आवतजावतका क्षेत्रमा निगरानी बढाएको छ। कारागारभित्रै सुरुङ खनेर आठ जना कैदीबन्दी बाहिरिन सफल हुनुले कारागारको सुरक्षा संयन्त्र र प्रशासनिक जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। छानबिनबाट सुरक्षा कमजोरीको जिम्मेवारी कसको थियो भन्ने यकिन हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।