विज्ञापन
कृषि

सडक अवरोधले मुस्ताङको स्याउ बिक्रीमा समस्या

मुस्ताङ। व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचे जति बिक्री गर्न सकेका छैनन्। पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो।

केही महिनादेखि पोखरा-काठमाडौंलगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन्। स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको थियो। घटनस्थापनाको दुई दिनअघि मात्रै बेनी–जोमसोम सडकमार्ग सञ्चालन भएको थियो।

दसैंको अन्तिम समयमा सडक सञ्चालन भएसँगै मुस्ताङको स्याउ एकैसाथ बजार पुर्‍याउँदा व्यापारीलाई स्याउ बिक्री गर्न समस्या परेको हो। मुस्ताङमा स्याउको व्यापार गर्दै आइरहेका धादिङ खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङ यस पटक भने स्याउ नबिकेर तनाबमा परेको बताउँछन्। उनले मुस्ताङबाट एक करोड बढी मूल्यको स्याउ खरिद गरिएको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको बताए।

विज्ञापन

“स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनाबमा परेको छु”, व्यापारी तामाङ भन्छन्, “खै लगानी कसरी उठाउने हो, दसैं पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन।”

मुस्ताङको स्याउ एकै पटक बजारमा ल्याउनु पर्दा गोदाम र मन्डी भरिएकाले स्याउको खपत हुन नसकेको हो। मुस्ताङमा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यहाँको स्याउ बजारमा बिक्री हुन कठिन भएको हो। यस वर्ष मुस्ताङमा १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ।

विगतमा असोज अगावै मुस्ताङका स्याउ बिक्री भइसक्थ्यो। यसपाला सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ एकैसाथ बजार पुग्दा मूल्य र बिक्रीमा ह्रास आएको हो।

यस वर्ष ७०० मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले असोज महिनाभित्र सबै स्याउ बिक्री भइसक्नुपर्नेमा आधा मात्रै स्याउ बिक्री गरेको बताउँछन्।

‘‘दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ”, किसान गुरुङले भने, “स्याउ खपत हुन नसक्दा बढी पाकेर स्याउ बोटबाटै झरेर नष्ट भइरहेको छ, ४०० टन जति स्याउ कोल्ड स्टोरमा राखेको छु।”

गत वर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यसपाला स्याउ खपत हुने सिजन सकिन लागेकाले चिन्ता बढेको उनले बताए। यस वर्ष छिटो पाक्ने स्याउ भदौ १२ र ढिलो पाक्ने स्याउ भदौ २२ गतेबाट टिपाइ गर्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो।

सोही निर्णयअनुसार हरितालिका तीज पर्वको अवसरमा २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो। कृषि तथा पशु विकास कार्यालय मुस्ताङले हालसम्म ५० प्रतिशत स्याउ पोखरा–काठमाडौँ लगायतका सहरमा निकासी भएको जनाएको छ।

कृषि तथा पशु विकास कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष सडक अवरुद्धका कारण मुस्ताङको स्याउलाई बजारीकरण गर्नमा केही समस्या परेको बताए। बगैँचामा करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।