काठमाडौं।पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ।
आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। विराटनगरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९.३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो।
उसका लागि प्रारम्भिक ब्याटर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित ३९ रनको पारी खेले। यस्तै, आन्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए। लोकेश बम २६, शुभम रञ्जने १०, बसिर अहमद १३, एन्जेलो म्याथ्युज १४ रनमा आउट भए।

चितवन राइनोजका लागि बलिङतर्फ कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २६ रन दिएर सर्वाधिक ४ विकेट लिए। यस्तै, रिजन ढकालले २ तथा टम टेलर, मौसम ढकाल, ड्यान मोस्ली र रञ्जित कुमारले समान १र१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनायो। उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले।
उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन्। यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे। देव खनाल १२ रनमा आउट भए। विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असाङ्काले समान १/१ विकेट लिए।
प्रतियोगितामा आज नै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने छन्। यी दुई टोलीबीचको खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुनेछ। जारी संस्करणको एनपिएलमा पनि आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।