विज्ञापन
अन्तर्राष्ट्रिय

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ।

वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ ९जीआरएपी० को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो।

राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो। यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ।

विज्ञापन

आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।

तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ। यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका काम समावेश छन्।

त्यसैगरी, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बीएस अर्थात् भारत स्टेज सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको उत्सर्जन मापदण्ड हो।

स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधि नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन्। श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई घरबाहिरका सबै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ।

दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो। औद्योगिक गतिविधि, सवारीसाधनको चाप र व्यापक निर्माण कार्य यहाँको वायु प्रदूषणका प्रमुख कारण हुन्। विगतका वर्षहरूमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।