ब्रेकिङ न्युज
विज्ञापन
स्वास्थ्य

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन्।

नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रियामा उनले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताए।

कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने, ‘कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ। तथ्याङ्क घट्दो अवस्थामा रहेको र कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या बढ्दै गएको देखिएको छ।’

विज्ञापन

मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेद्को डरले रोग लुकाउने अवस्था रहेको भए पनि पछिल्लो समय त्यस्तो अवस्था क्रमशः कम हुँदै गएको उल्लेख गरे। तर, जनचेतना अभिवृद्धिका लागि अझै धेरै काम गर्नुपर्ने उनको भनाइ छ।

मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनुपर्ने धारणा राखे । रोगका कारण हुने सामाजिक विभेद् अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदायस्तरमा चेतना विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानव अधिकारसँग जोडिएको विषय भएको बताए। उनले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताए।

वरिष्ठ छाला रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटाका अनुसार आर्थिक वर्ष २०८१।८२ मा नेपालमा दुई हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। उपचारमा रहेका बिरामीको सङ्ख्या दुई हजार ६०८ रहेको छ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी छन्। कुष्ठरोगका कारण हुने लाञ्छना र भेदभाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।